दोलखाको विगु गाउँपालिकामा रोकिएन बालविवाह : मागी विवाहमा न्यूनीकरण भागी विवाह बढ्दो

वैशाख ८, २०८२ |केदार शिवाकोटी
दोलखाको विगु गाउँपालिकामा रोकिएन बालविवाह : मागी विवाहमा न्यूनीकरण भागी विवाह बढ्दो

दोलखा । सानै उमेरमा विवाह गर्ने तथाङ्कमा अघि छ दोलखाको विगु गाउँपालिका । विगुको वडा नम्बर १, २ र ८ मा कलिलैमा विवाह गर्ने बालबालिकाको संख्या धेरै छ । कुनै समय थामी समुदायको बस्ती रहेको थामीचाँगुमा बालकैमा हुने मागी विवाह निकै न्यूनीकरण त भयो तर चेतना अभावमा भागी विवाह भने अझै घट्न सकेको छैन । बालविवाह रोक्न पछिल्लो समय स्थानीय तहले समुदाय परिचालन कार्यक्रमसमेत गरिरहेको छ ।

विगु गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका गाउँहरु बालविवाहले जकडिएका छन् । पढ्ने उमेरमा विवाह गरेका यहाँका किशोरकिशोरीको कथा पनि त्यति नै कहालीलाग्दो छ । पढ्ने उमेरका किशोरीहरु कलिलैमा आमा बनेका छन् । 

अझ कलिलै उमेरमा विवाह गरेपछि थामीचाँगुमा त अंशवण्डा गरेर बस्नु पर्ने अर्को चलन छ । जसका कारण अधिकांश मानसिक स्वास्थ्य समस्याले ग्रसित छन् । बालविवाह रोक्न समुदायमै परिचालन कार्यक्रम भैरहेको छ । मागी बिबाह न्यूनीकरण भए पनि भागी विवाह रोकिन सकेको छैन ।

बालविवाह गर्ने अधिकांश विद्यालय शिक्षाबाटसमेत बञ्चित बनेका छन् । सानैमा विवाह गरेकाहरु आर्थिक रुपमा कमजोर छन् । उमेर नपुगेर विवाह गरेका कितपय गर्भवतीले आकालमा ज्यान गुमाएका छन् भने कतिले बच्चा । पछिल्लो समय कक्षा ७ देखि १० सम्म पढ्ने उमेरमै भागी विवाह बढ्दो छ ।

बालविवाह न्यूनीकरण गर्न जनप्रतिनिधि सक्रिय छन् । तर, यो कुप्रथा हट्न सकेको छैन । स्थानीय तहमा थामी समुदायकै जनप्रतिनिधि आएपछि भने बालबिवाह न्यूनीकरण गर्न योजनासहित अभियान सञ्चालन भइरहेका पनि छन् । तर, सानै उमेरमा बढ्दो सामाजिक सञ्जाल प्रयोगले विद्यालय उमेरमै हुने भागी विवाह रोक्न निकै चुनौती थपिएको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।