अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको चार दिने भ्रमणमा

वैशाख ८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको चार दिने भ्रमणमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको चार दिने भ्रमणका लागि आज नयाँ दिल्ली आइपुग्नु भएको छ ।

भान्सका साथमा उहाँकी पत्नि उषा भान्सका साथै उहाँहरुका दुई छोरा र एक छोरी पनि सँगै भारत आएका छन् । भान्सकी श्रीमती उषा भारतीय आप्रवासीकी छोरी हो । 

राष्ट्रपति ट्रम्पद्वारा घोषित २६ प्रतिशतको उच्च आयात करबाट जोगिन अमेरिकासँग सक्दो छिटो व्यापार सम्झौता गर्न र ट्रम्प प्रशासनसँगको सम्बन्ध बलियो बनाउन प्रयत्नरत दिल्लीका लागि भान्सको भ्रमण एउटा राम्रो अवसर भएको बताइएको छ ।

भान्स पहिलो दिन व्यक्तिगत भ्रमणमा व्यस्त रहने र भोलि मात्रै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । भारतमा रहँदा भान्स परिवारले आगरास्थित ताजमहलको भ्रमणका साथै जयपुरमा हुने एउटा वैवाहिक कार्यक्रममा पनि सहभागिता जनाउने बताइएको छ ।

प्रधानमन्त्री मोदीसँगको भेटमा दुवै नेताले यही फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको प्रगतिको समीक्षा गर्ने बताइएको छ । यी सहमतिहरुमा दुवै देशबीच स्वच्छ व्यापार हुनुपर्ने र रक्षा साझेदारी वृद्धि गर्ने विषय मुख्य रहेका थिए । अमेरिकामा राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेपछि उहाँलाई शुरुमै भेट्ने केही नेताहरुमध्ये प्रधानमन्त्री मोदी पनि एक हुनुहुन्थ्यो ।