काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर पद खाली भएको १६ दिन बित्दासमेत सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । चैत ११ गते अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा ३ सदस्यीय गभर्नर सिफारिस समिति बने पनि समितिले अहिलेसम्म नाम सिफारिससमेत गर्न सकेको छैन ।
गभर्नर सिफारिस समितिले आर्थिक, मौद्रिक तथा वाणिज्य क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति तथा डेपुटी गभर्नरबाट तीन जनाको नाम सिफारिस गर्न सक्ने राष्ट्र बैंक ऐनमा उल्लेख छ ।
सरकारले भने गभर्नर नियुक्तिको गृहकार्य भइरहेको दाबी गरेको छ । सिफारिस समितिका संयोजक मन्त्री पौडेलले कान्तिपुरसँग कुरा गर्दै उपयुक्त समयमा बैठक बसेर सिफारिस गर्ने र योग्य तथा सक्षम व्यक्ति गभर्नर बन्ने दाबी गर्नुभयो ।
तर, सिफारिस समितिले सिफारिस गर्नुअघि नै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको सार्वजनिक भइसकेको छ । यसले सिफारिस समितिकै औचित्यमाथि नै प्रश्न उठेको छ । हालसम्म सिफारिस समितिको औपचारिक बैठक बस्नसमेत सकेको छैन ।
उता सत्तारुढ दलका शीर्ष नेताको ग्रीन सिग्नलपछि भट्टले राजीनामा दिइसक्नु भएको छ । तर, उहाँलाई रोक्ने प्रयास अनुरुप सर्वोच्च अदालतमा रिट परेको छ । उक्त रिट दुई दिन यता हेर्न नभ्याइनेमा परेको छ ।
भट्टले कार्यकारी निर्देशक पदबाट दिनुभएको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन । गभर्नरको समेत आकांक्षी रहनुभएकी कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले राजीनामा रोकेर राख्नु भएको बताइएको छ । गभर्नरमा भट्ट नियुक्त हुने अवस्थामा आफ्ना लागि स्थान के हुने भन्दै ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको स्रोतको दाबी छ ।