बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलमा विभागीय टोली एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगञ्ज रंगशालामा जारी प्रतियोगितामा आज एपीएफले कर्णाली प्रदेशलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ, रेनुका नगरकोटे, गीता राना, अनिता केसी र सविता रानामगरले समान एक गोल गर्दा एक गोल आत्मघाती भयो ।
कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । खेलको १८औं मिनेटमा कर्णालीकी टिना रावतबाट आत्मघाती गोल हुँदा एपिएफले अग्रता लियो । सविताको प्रहार टिनालाई लाग्दै गोल भएको हो ।
रेनुकाले ३५औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । अनिताले दुई मिनेटपछि नै गोल गर्दा पहिलो हाफमा एपिएफ ३-० ले अघि थियो ।
दोस्रो हाफमा पनि उसले तीन गोल नै थप्यो । गीताले ५०औं मिनेटमा चौथो गोल गरिन् भने त्यसको एक मिनेटपछि रश्मीकुमारीले टोलीलाई ५-० को अग्रता दिलाइन् । सविताले ५५औं मिनेटमा गोल गर्दा एपिएफले ६-० मा खेल समाप्त गरेको हो ।
लुम्बिनीमा अत्याधिक गर्मीका कारण ८० मिनेटको मात्रै खेल खेलाइएको छ । र, आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै, दोस्रो सेमिफाइनलमा बुधबार एपिएफ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।
आजको खेलमा गोलकिपर अन्जन राना मगरले एपिएफबाट डेब्यु गरेकी छन् । यसअघि उनी नियमित रुपमा त्रिभुवन आर्मीको महिला टिमबाट खेलिरहेकी थिइन् । आर्मीकी पहिलो रोजाईकै गोलकिपर रहे पनि उनी अहिले एपिएफमा अनुबन्ध भएपछि एपिएफबाट डेब्यु गरेकी हुन् ।