जसले राजावादीको अराजक प्रदर्शनमा ज्यान गुमाए...

चैत्र १६, २०८१ |अञ्जना लामिछाने
जसले राजावादीको अराजक प्रदर्शनमा ज्यान गुमाए...

काठमाडौं । राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा शुक्रबार दुई जनाले ज्यान गुमाए । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक राजावादी प्रदर्शनको सूचना नागरिकसमक्ष पुर्‍याउने काममा जुटेकै बेला एक निजी घरमा आगजनी हुँदा त्यहीं जलेर मारिए । यस्तै प्रदर्शनमा सहभागी कीर्तिपुरका सविन महर्जनको पनि प्रहरीको गोली लागेर मृत्यु भयो । को हुन् त प्रदर्शनमा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जन ?

१० वर्षदेखि एभिन्युज टेलिभिजनमा कार्यरत सुरेश रजक क्यामेरा तथा भिडिओ विभागका प्रमुख हुनुहुन्थ्यो । तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनको छायांकन गर्न उहाँ कार्यालयबाट सहकर्मी पत्रकारसँग निस्किनुभो । तीनकुने आइपुग्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको थियो । प्रदर्शनकारीलाई तोकिएको खुला चौर अगाडिको एक व्यापारिक भवन ढुंगा प्रहारबाट छियाछिया भइसकेको थियो । 

सुरेश छतबाट आन्दोलनका दृश्य खिच्न त्यही भवनमा प्रवेश गर्नुभयो । प्रदर्शनकारी अझ हिंसात्मक बन्दै थिए । त्यही क्रममा भवनमा आगो लगाइयो । भुइँ तल्लामा हुरहुरी आगो बल्दा उहाँ माथिल्लो तल्लामा काममै हुनुहुन्थ्यो । बाहिरबाट सिंगै भवन आगोमा जलेको देखिँदा भित्र रहेका सुरेशका बारे सोधखोजी त भयो, तर उहाँ भवनमै हुनुहुन्थ्यो भन्नेबारे सुरक्षा निकायमा जानकारी पुगेन ।

धेरै बेरपछि आएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेर टिक्न दिएनन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा मास्क लगाएको एक व्यक्ति भर्‍याङबाट तल झरिरहेका देखिन्छन् भने सुरेश रहेको कोठाको ग्रीलमा बाहिरबाट ताल्चा लगाइएको देखिन्छ । भिडिओ खिच्नेले को हो भनेर सोधेको र अर्को व्यक्तिले पत्रकार भनेर जवाफ दिएको सुनिन्छ । ती व्यक्तिहरू फर्कन्छन् । त्यस क्रममा भवनमा आगो लागिरहेको देखिन्छ । तर सुरेशलाई जोगाउने कसैले प्रयास गर्दैनन् ।

साँझ परेपछि भवनको आगो निभाउने क्रममा एउटा शव फेला परेपछि मात्रै थाहा भयो, त्यो शव सुरेशको थियो ।

सुरेश चन्द्रागिरिमा श्रीमतीसँग बस्दै आउनुभएको थियो ।

शुक्रबारको प्रदर्शनका क्रममा आन्दोलनकारी सविन श्रेष्ठको पनि मृत्यु भएको छ । कीर्तिपुरका २९ वर्षीय श्रेष्ठ काठमाडौंदेखि हेटौंडासम्म चल्ने गाडीका चालक हुनुहुन्थ्यो । उहाँकै कमाइले परिवारले गुजारा चलाउने गरेको थियो । तर श्रेष्ठको निधनपछि भने श्रीमती र र छोरीको आर्थिक दायित्व अब कसले लिने भन्ने चिन्तामा परिवार छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आस्था राख्ने भएकाले उहाँ शुक्रबारको प्रदर्शनमा सहभागी हुनुभएको थियो । प्रदर्शन हिंसात्मक बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा उहाँलाई लागेको थियो । उहाँको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक श्रेष्ठका परिवारले राज्यले उचित क्षतिपूर्ति नदिँदासम्म शव नबुझ्ने अडान लिएको छ ।

पत्रकार सुरेश रजकको मृत्युको घटनामा दोषीलाई कारबाहीको माग गर्दै शनिबार देशभरका सञ्चारसम्बद्ध संघसंस्थाले विरोध र्‍याली तथा सभा आयोजना गरेका छन् ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।