सुदीपको अन्त्येष्टि, शोकमा बुटवल

वैशाख ११, २०८२ |भुवन पाण्डे
सुदीपको अन्त्येष्टि, शोकमा बुटवल

रूपन्देही । भारतको पहलगाममा भएको आतंकवादी हमलाबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आज अन्त्येष्टि गरिएको छ । सुदीपको मृत्युले बुटवल शोकमा डुबेको छ । पर्यटक लक्षित आक्रमणको चौतर्फी निन्दा गरिएको छ ।

सुदीपले दुई हप्ताअघि मात्र एक एनजीओमा काठमाडौंमा काम गर्न थालेका थिए । पारिवारिक घुमघामको तयारी भएकाले बिदा लिएर सुदीप वैशाख ६ गते दिउँसो काठमाडौंबाट घर आए । उसैदिन साँझ आमा रिमकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्ले सहित उनी भारत तर्फ लागे । दिल्ली हुँदै वैष्णोदेवी मन्दिरको दर्शनका लागि पारिवारिक टोली हिँडेको थियो । 

वैष्णोदेवी मन्दिरदेखि पहलगाम २६४ किलोमिटर टाडा पर्छ । मंगलबार आतंकवादी हमला हुँदा सुदीपको परिवार सँगै थिए । सुरुमा सुदीपलाई हातमा गोली लागेको थियो । घाइते सुदीपलाई बचाउन जाँदै गर्दा आतंकवादी समूहले अर्को गोली हानेको परिवारले जनाएको छ । घटनास्थलमै मृत्यु भएको सुदीपको शव पोस्टमोर्टमपछि आज बेलहिया नाका हुँदै नेपाल ल्याइएको हो । 

भारतीय पक्षले परिवार र मृतकको शव बुटवलसम्म ल्याउने व्यवस्था मिलाएको थियो ।

घुम्न गएका सुदीप जब बाकसमा फर्किए, परिवार इष्टमित्र छरछिमेक सबैमा रुवाबासी चल्यो । २०५५ साल फागुन १० गते जन्मिएका सुदीप सानै उमेरदेखि बुटवलमा रहेका विभिन्न क्लबहरूमा आबद्ध थिए । समाजसेवामा रुचि राख्ने सबैसँग घुलमिल हुने भएकाले पनि धेरैले उनलाई मन पराउँथे ।

परिवारमा आमा, एक छोरा र छोरी थिए । छोरीको दुई वर्षअघि पोखरामा विवाह भएको छ । छोराको मृत्युले विछिप्त बन्नुभएकी आमा छिनछिनमा बेहोस हुनुहुन्छ । शवलाई आज त्रिवेणी घाटमा काका कपिलदेव न्यौपाने र बहिनी सुष्माले दागबत्ती दिएर अन्त्येष्टी गरिएको छ । 

पर्यटक लक्षित आतंकवादी हमलाको सबैले निन्दा गरेका छन् ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।