संसद्मा प्रधानमन्त्री ओलीले आज गर्ने भनिएकाे सम्बोधन स्थगित

वैशाख १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद्मा प्रधानमन्त्री ओलीले आज गर्ने भनिएकाे सम्बोधन स्थगित

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । संसदको दुबै सदनको अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको थियो । तर प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित हुने भएपछि प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यतालिका रोकिएको एमालेका प्रमुख सचेतक महेश बर्तौताले बताउनुभयो । 

यो बजेट अधिवेशन भए पनि सरकारले शिक्षा विधेयक यही अधिवेशनमा पेस गर्ने प्रतिवद्दता जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । 

राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउनु हुनेछ । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ । 

 बैठकमा अधिवेशन सुरू भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.