काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताउनुभएको छ । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्यौँ भने आफैँ जोखिममा पर्ने उहँँकाे भनाइ छ । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्युनिकरण गर्न जरूरी रहेको बताउनु भयो ।
उहाँले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छाैँ भन्ने प्रतिवद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गर्नुभयो ।
सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरू मात्रै नभइ समग्र नागरिक रहेको बताउनु भयो । नागरिकहरू कुनै न कुनै हिसावले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताउनु भयो ।गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले शतर्क भएर रहनुपर्ने बताउनु भयो ।
अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्नसके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गर्नुभयो ।