सिरहा । सिरहाको औरही गाउँपालिका-५, औरहीस्थित हुलाकी राजमार्गमै अवस्थित सामुदायिक विद्यालयको छेउको खोला किनारमा तल बाँस र माथि जस्ता हालेर नयाँ बनाइएका एउटा थोत्रा झुपडी छ । गाउँका सबैका घर राति बत्ति बलेर झिलिमिलि हुँदा यो झुपडी भने अन्धकारमय हुन्छ ।
किनकि, यो घरमा बिजुली छैन । यही घर हो, महायज्ञका नाममा अछुत भन्दै अत्याचार खेपेका दलित समुदायका दीपक मल्लिक डोमको । औरहीमा चैत १७ देखि लाग्ने भनिएको महायज्ञस्थलमा रहेको जनता आवास कार्यक्रमअन्तर्गत ५ वर्षअघि बनेको उनको पक्की घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
दीपक र उनकी पत्नी अनिता मल्लिक गाउँपालिकामै सफाइकर्मीका रुपमा मजदुरी गर्छन् । उनीहरु काममै रहेका बेला फागुन १० गते दिउँसो उनको घर भत्काइएको थियो । कामबाट फर्किएपछि मात्रै उनीहरुले घर भत्काइएको देखेका दिए । केही बेर त उनीहरु बेवाक् रहे ।
तर, त्यसपछि दीपकले आफूलाई थाम्न नसकेर गुनासो गर्दा पालिका अध्यक्ष यादवले यहाँ महायज्ञ भइरहेकोले बस्न नमिल्ने र अन्त केही जग्गा दिएर घर बनाइदिने भन्दै धेरै किचकिच नगर्न अनि बाहिरका कसैलाई नभन्न सम्झाइबुझाइ गरे । अध्यक्षले भनेपछि दीपकले केही नाइँनास्ती गर्न सकेनन् ।
दलित भएकै कारण महायज्ञस्थलबाट घर भत्काइएको विषयमा विवादमा पर्नसक्ने देखिएपछि यसलाई थामथुम पार्न पालिका अध्यक्ष यादवले बिहानपल्ट आफ्ना मान्छे खटाएर बस्तीको एकान्तमा बासका टाटी र माथिबाट जस्ता हालेर दीपकको घर त बनाइदिए । तर, यो घरमा बिजुली बत्ति जोडिदिएनन् ।
त्यसयता यो पीडित परिवार रातिको समयमा टुकी बालेरै काम चलाउँदै आएको छ । ‘दिनमा त खासै आवश्यकता हुँदैन, तर राति हामीलाई नागरिक नै नभएको अनूभुति भइरहन्छ,’ दीपककी पत्नी अनिता भन्छिन्, ‘अन्धकारमा डराइडराइ रात काट्नुपर्छ, टुकीले जसोतसो काम चलाउँछौं ।’
मल्लिक परिवारको सात जनाको परिवार छ । दीपक र अनितासँगै १७ वर्षीय छोरा अर्जुन, अर्जुनकी नवविवाहिता दुलही, १३ वर्षकी छोरी किरण, १० वर्षकी छोरी प्रिती र ७ वर्षका छोरा आकाश गरी सात जना दुई कोठाको यही घरमा जसोतसो बस्छन् ।
बिजुली नभएर मात्र होइन, उनीहरुको नयाँ घरमा खानेपानीको व्यवस्था पनि छैन । जसले उनीहरुलाई दिन्दिनै पिरोलिरहन्छ । यसअघिको घरमा उनीहरुको आफ्नै चापाकल थियो । तर, यहाँ नहुँदा उनीहरु पानीका लागि अरुकामा भौतारिरहनुपर्छ ।
‘विद्यालयको समयमा विद्यालयबाटै ल्याउँछौं, तर त्यसपछि अरुकामा जानुपर्छ,’ दीपक भन्छन्, ‘सबैले आफ्नो कलमा पानी भर्न पनि दिँदैनन्, कसैकसैले हाम्रो समस्या देख्दा माया लागेर पानी लिन दिन्छन्, हाम्रो त बिजोगै छ नि, के भनौं ।’
घटना सार्वजनिक भएयता मिल्न दबाब आइरहेका कारण दीपक आफ्नो घरमा बस्दैनन् । उनी जिल्लाकै एउटा गाउँमा आफन्तकहाँ लुकेर बसेका छन् । तर, उनीबाहेक अरु सबै घरमै बस्छन् ।
घरमा श्रीमती र सन्तानले पानी अनि बिजुली बेगर भोगिरहेको पीडाले दीपकको मन अशान्त छ । ‘म त बाहिर बसिरहेको छु, तर मेरो घरमा सबैले पीडा झेलिरहेका छन्,’ भक्कानिँदै दीपकले कान्तिपुरसित भने, ‘यत्रो सबै हुँदा पनि हाम्रा पीडा र समस्या उस्तै छन् ।’
सिरहा क्षेत्र नम्बर २ का पूर्वसांसद सुरेशचन्द्र दास यो परिवारमाथि भएको अत्याचार घटना राष्ट्रिय मुद्दा बनेपनि उनीहरु अहिले भोगिरहेको समस्याप्रति अहिलेसम्म राज्यको ध्यान जान नसक्नु निन्दनीय भएको बताउँछन् । ‘पीडित परिवारमाथि राज्यको बेवास्ता निन्दालायक छ,’ उनी भन्छन्, ‘न्याय मात्रै होइन, पीडितलाई पुनस्र्थापना गर्दै राहत दिनु पनि राज्यको दायित्व हो ।’
यस घटनामा अहिले गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष प्रहरी हिरासतमा छन् । उनीहरु गत शुक्रबार नै पक्राउ परेका थिए । पीडित दीपक मल्लिकले गत शनिबार जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा तीनै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् ।
जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ । यस घटनामा बजरंजी बाबा भने अझै फरार छन् ।