विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको एमफिल, पीएचडी कार्यक्रममा अनुसन्धानकर्ताको आकर्षण बढेको छ । कार्यक्रममा पूर्वका मात्र नभइ चितवन, काठमाडौंलगायतका क्षेत्रका अनुसन्धानकर्ताहरु एमफिल, पीएचडी कार्यक्रममा भर्ना भएका छन् । व्यवस्थापन संकायका अतिरिक्त अन्य संकायमा पनि एमफिल, पीएचडी कार्यक्रमको माग हुन थालेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकायमा एमफिल, पिएचडीको अध्यापन शुरु गरेपछि पूर्वका अनुसन्धानकर्ताहरुलाई सहज भएको छ । अहिलेसम्म १२ जनाले एमफिलको उपाधि प्राप्त गरिसकेका छन् ।
एमफिलमा ३० जनाले थेसिस लेखिरहेका छन् भने २० जनाले प्रोजेक्ट वर्क गरिरहेका छन् । त्यसैगरी १६ जनाले सेमिनार गरिरहेका छन् भने २० जनाले पहिलो सेमेष्टरको कक्षा लिइरहेका छन् । पिएचडी तर्फ भने एक जनाको अन्तिम भाइभा हुने चरणमा छ भने सात जना अनुसन्धानरत छन् । एक जना भने भर्नाको प्रकृयामा छन् ।
पिएचडीमा अनुसन्धानरत नौ जना मध्ये छ जना पूर्वाञ्चल विश्वविद्यालयबाटै एमफिल उपाधी प्राप्त गरेका हुन् । अनुभवी विशेषज्ञ प्राध्यापकहरुबाट अनुसन्धान गराउने, अनुसन्धानका लागि टाढा जानु नपर्ने र उचित शुल्कका कारण एमफिल, पिएचडीका लागि आफूहरुको पहिलो रोजाई पूर्वाञ्चल विश्वविद्यालय भएको अनुसन्धानकर्ताहरुको भनाई छ ।
एमफिल गर्नका लागि तीन सेमेष्टर अध्ययन, अनुसन्धान गर्नु पर्दछ भने अढाई वर्षदेखि पाँच वर्ष भित्र पिएचडी सक्नुपर्ने हुन्छ । प्राध्यापक डाक्टर प्रेमराज पन्त, प्राध्यापक डाक्टर राधेश्याम प्रधान, प्राध्यापक डाक्टर माधवराज कोइराला, प्राध्यापक डाक्टर महानन्द चालिसे लगायतले सुपरभाइज गर्नुहुन्छ भने को–सुपरभाइजरको रुपमा प्राध्यापक डाक्टर बिजु कुमार थपलिया, प्राध्यापक डाक्टर जीवन कुमार ढकाल, प्राध्यापक डाक्टर सदय हमाल, डाक्टर रमेशवाबु काफ्ले, डाक्टर उत्तम कुमार रेग्मीलगायत हुनुहुन्छ ।
व्यवस्थापन संकायमा एमफिल, पिएचडी कार्यक्रम शुरु भएपछि पूर्वाञ्चल विश्वविद्यालयका अन्य संकायमा पनि एमफिल, पिएचडीको माग हुन थालेको छ ।