कपिलवस्तु । हिउँ चितुवा अन्य चितुवाभन्दा निकै आकर्षक र मनमोहक देखिन्छ । अन्य चितुवाभन्दा फरक जीउडाल, अनौठो स्वभाव र बेग्लै बासस्थानमा बस्ने हुँदा यसलाई रहस्यमयी प्राणी पनि भनिन्छ । ठूलो बिरालो प्रजातिको यो प्राणी हेर्न विश्वभरकै मानिस उत्साहित हुन्छन् ।
तर जलवायु परिवर्तन, बासस्थानको कमी, विनास र खण्डीकरण तथा चोरी शिकार जस्ता समस्याले भने हिउँचितुवा संरक्षणमा चुनौती थपिएको छ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा असर पुर्याएका कारण बासस्थानमा आएको ह्रासले प्राकृतिक आहारा प्रजातिमा कमी आएको हिउँचितुवा विज्ञ बताउँछन् ।
नाउर, झारल प्रमुख आहार रहेकामा त्यस्को संख्या घटदै जाँदा हिउँचितुवालाई समस्या थपिएको छ । आहार नपाउँदा साबिकको बासस्थान छाडेर अर्को बासस्थान खोज्दा पनि हिउँचितुवा खतरामा पर्ने गरेका छन् ।
हिउँ चितुवाको संख्या नेपालमा ३ सय ९७ रहेको तथ्यांक सार्वजनिक गरिएको छ । सन् २०१५ देखि २०२५ सम्म गरिएको जेनेटिक सर्भे र क्यामरा ट्रयाप विधिबाट उक्त संख्या पहिचान गरिएको हो । नेपालका कञ्चनजंघा, गौरीशंकर, मनास्लु-अन्नपूर्ण संरक्षण क्षेत्र र आससासका क्षेत्र तथा पूर्वी डोल्पा, शे-फोक्सुण्डो र हुम्लामा गरिएको बैज्ञानिक अध्ययनबाट उक्त संख्या पत्ता लागेको हो ।
हिउँ चितुवा हेर्ने ट्रेल विकास गर्न सकियो भने मुलुकले राम्रो आय आर्जन र पर्यटकको उत्कृष्ट गन्तब्य बन्छ । सुन्दर, त्यसमाथि सेताम्य हिउँ आसपास देखिने हुँदा पर्यटक हिउँचितुवा हेर्न निकै लालायित हुन्छन् । जसरी बाघ हेर्न विदेशी नेपाल आउँछन् । त्यसैगरी हिउँचितुवा देखाउन सक्यौ भने पर्यटकको ओईरो लाग्ने विज्ञको भनाइ छ ।
प्रतिकूल मौसम र विकटताबाट जोगिन हिउँचितुवाको शरीरविकसित भएको हुन्छ । चिसो मौसम र कम अक्सिजन भएको वातावरणमा बाँच्न उसका नाककाप्वाल ठूला हुन्छन् । सम्पूर्ण शरीर बाक्लो र लामो रौंले ढाकिएको हुन्छ । शरीरको तुलनामापञ्जा निक्कै ठूला हुने हुँदा यसले ठूला-ठूला शिकार सजिलै गर्छ । शरीरका बाक्लातथा लामो रौंले माईनस चालिस डिग्री सेल्सीयससम्मको तापक्रममा यो रहन सक्छ । हिउँचितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रुस, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।