रुपन्देहीको सैनामैनामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला ७ वर्षदेखि अलपत्र

कार्तिक ६, २०८२ |अमृता अनमोल
रुपन्देहीको सैनामैनामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला ७ वर्षदेखि अलपत्र

बुटवल । खेलकुदको विकासका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ खेल मैदान । क्रिकेट खेलको विकास र विस्तारका लागि रुपन्देहीको सैनामैनामा निर्माण थालिएको ९० यार्डको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला भने निर्माणको चरणमै अलपत्र परेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकामा क्रिकेट खेलको विकास र विस्तारका लागि भन्दै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेको ठ्याक्कै ७ वर्ष भयो । आर्थिक वर्ष २०७४/७५ मा निर्माण सुरु भएको देशकै ठूलो र नमूना भनिएको रंगशालाको लागत २ अर्ब १९ करोड रुपैयाँ छ । 

संघीय सरकारले थालेको ९० यार्डको रंगशालामा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता र तालिम संचालनका गर्ने प्रचार गरिएको छ । तर, अहिलेसम्म रंगशाला मैदानको प्रारम्भिक पूर्वाधार निर्माणको काम मात्र सकिएको छ ।

करिब १४ बिगाह क्षेत्रफलमा फैलिएको निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सैनामैना नगरपालिका ७ लम्टियामा छ । निर्माणाधीन रंगशालामा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता र ट्रेनिड. सेन्टर संचालन गर्ने र रंगशाला रातिमा पनि खेल खेल्न सकिनेगरी निर्माण गर्ने योजना छ । जसमा २५ हजार दर्शक बस्न सक्नेगरी प्याराफिट निर्माण गरिने बताइएको छ । 

तर, मैदानमा अहिलेसम्म संघीय सरकारले विनियोजन गरेको करिब एक करोड ४० लाख रुपैया र स्थानीय सरकारको गरी १ करोड ६० लाख लागतमा अहिलेसम्म माटो कटिड., शौचालय, ड्रसिड.रुम , नेचुरल प्याराफिट निर्माणका काम मात्र गरिएको छ । पछिल्लो समय संघीय सरकारले पनि बजेट विनियोजन गरेको छैन । नत, प्रदेश सरकार न स्थानीय सरकार सैनामैनाले नै लगानी गरेका छन् । यसले रंगशाला अलपत्र परेको छ ।

निर्माणाधीन रंगशाला पूर्वपश्चिम राजमार्गबाट सबा ३ किलोमिटर दक्षिणमा छ । लुम्बिनीदेखि १४ किलोमिटर उत्तरमा पर्छ । आफ्नो ठाउँमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने खुशीले उत्साहित स्थानीय खेलाडी तथा खेलप्रेमी अहिले निराश भएका छन् । रंगशालाको उपलब्धि गुम्दै गएकोमा चिन्तित पनि छन् ।

खेलकुदको विकासका लागि सबैभन्दा महत्वपूर्ण खेल पूर्वाधार हो । पूर्वाधार अभावमा खेल र खेलाडीहरु खुम्चीइरहेका छन् । यस्तोमा सरकारले खेलकुदको विकासमा ठूला ठूला सपना बाड्दै निर्माण अगाडि बढाएका गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला जस्ता संरचना अलपत्र छन् । रंगशालाको लगानी बालुवामा पानी हुन नदिन तीन तहकै सरकारले काम थाल्न जरुरी छ । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।