काठमाडौै । रङहरूको पर्व होली आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।
तराई-मधेशमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ ।
‘बुरा नमानो होली हैं जोगिरा सररर...’ जस्ता सुमधुर होलीका गीतहरु अहिले मधेशका विभिन्न स्थानहरुमा गुन्जिरहेको छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो ।
रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।
होली आउना साथै तराई भेगमा होरिया गीत गाएर रमाउने गर्छन् । वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ ।
आफु भन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रंग लागाएर सद्भाव देखाउने चलन रहेको छ ।
यस वर्ष मधेशका केही जिल्लाहरुमा तेश्रो दिन पनि मनाइदै छ । मिथिला पञ्चाङ अनुसार होली पर्व भोलि अर्थात शनिवार रहेको उल्लेख छ । असत्य माथि सत्यको जितको उत्सवका रुपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरु सौहार्दपूर्ण रुपमा फागु खेलिरहेका छन् ।