सगरमाथा चढ्ने बाटो बनाउन आईसफल डक्टर आधार शिविर प्रस्थान

फाल्गुन २८, २०८१ |भानुभक्त निरौला
सगरमाथा चढ्ने बाटो बनाउन आईसफल डक्टर आधार शिविर प्रस्थान

सोलुखुम्बु । पर्यटनको आरोहण सिजन(स्प्रिङ) शुरु भएसँगै सगरमाथा चढ्ने बाटो बनाउन आइसफल डक्टरको टोली आधार शिविर तर्फ प्रस्थान गरेको छ । बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदुषण नियन्त्रण समितिले खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मत गर्न आइसफल डक्टरहरूको टोली सगरमाथा आधार शिविर पठाएको हो ।

हिमाल आरोहणको उपयुक्त मौसम बसन्त ऋतु (२०२५) का लागि अनुभवि विज्ञको बाटो बनाउने टोली नाम्चे बजारबाट बन्दोबस्तिका सामानसहित आधारशिविर पठाईएको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले बताए । टोलीमा आधारशिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पासहित आठ जना आइसफल डक्टर समावेश छन् ।

२ वटा टोली मध्ये आङसर्कि शेर्पाले एउटा टोलीको नेतृत्व गरेका छन् भने दावाजाङ्बु शेर्पाले अर्को टोलीको नेतृत्व गरेका छन् । टोलीको सदस्यहरुमा दावा नुरु शेर्पा, निम तेन्जी शेर्पा, मिङ्मा ग्याल्जेन शेर्पा, दावा छिरी शेर्पा, लाक्पा सोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् ।

सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी प्रदान गर्दै आएको छ ।

उक्त टोलीले बौद्ध परम्पराअनुसार हिमालको प्रार्थना र पूजा गरेर मात्रै बाटो बनाउने काम शुरु गर्छ । अध्यक्ष शेर्पाले भने, ‘लामालाई साईत हेराए पश्चात सोही साईतको समयमा बाटो बनाउने काम शूरु हुन्छ। हिमालमा बाटो बनाउने कामलाई अत्यन्तै जोखिमपूर्ण मानिन्छ । उनीहरुको टोलीले दोश्रो आधार शिविरसम्म डोरी टाग्ने र अप्ठ्यारो ठाउँमा भर्याङ हाल्ने काम गर्छ । सोही बाटोमा आरोहीहरुले सहजताका साथ आरोहण गर्ने गर्दछन् ।’

सगरमाथाको दोश्रो आधारशिविरसम्म बाटो बनाउन २० दिनको समय लाग्ने एसपीसीसीले जनाएको छ । सगरमाथा क्षेत्रमा बाटो बनाउने र सरसफाईको काम सगरमाथा प्रदुषण नियन्त्रण समितिले गर्दै आएको छ । सो काम गरे बापत समितिले आरोहणदलमा आउने प्रत्येक विदेशी नागरिकसँग ६ सय अमेरिकि डलर लिँदै आएको छ ।

‘हामीले बाटो बनाउने र सरसफाई गर्ने सबै काम गर्छौ’ अध्यक्ष शेर्पाले भने, ‘हामीले पर्यटन मन्त्रालयसँगको सम्भौतामा सबै काम गरेका हौँ, हाम्रो आम्दानीको मुख्य श्रोत नै यही शुल्क हो ।’

समितिले नेपाली आरोहीबाट भने कुनै शुल्क लिने गरेको छैन । एसपीसीसीले आरोहण दलको अनुमति जाँचका अतिरिक्त आधारशिविर क्षेत्रमा वातावरण संरक्षणसम्बन्धी कार्यहरु गर्दै आएको छ ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement