कोशी । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सुरु भएको छ ।
‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’ भन्ने नारासहित कोशी प्रदेश प्रहरी कार्यलयले सुरु गरेको अभियानलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज इटहरीमा उद्धघाटन गर्नुभएको हो ।
विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित प्रदेशका १४ वटै जिल्लामा उक्त अभियान अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरिक्षक डिआइजी राजन अधिकारीले जानकारी दिनुभएको छ ।
६ बर्षअघि सुनसरीबाट सुरु भएको दुव्र्यसन विरुद्धको अभियान आजदेखी कोशी प्रदेशमा विस्तार गरिएको हो । सुनसरी प्रहरी प्रमुख हुँदा अभियानको परिकल्पना गरी सुनसरीमा अभियान सुरु गरेका अधिकारी कोशी प्रदेश प्रहरी प्रमुख भएपछी अभियानलाई प्रदेशब्यापी बनाउनुभएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समेटेर अघि बढाइएको उक्त अभियानलाई प्रदेश र स्थानीय तहहरुले बार्षिक कार्ययोजनामै समेटेर साथ दिएको डिआइजी अधिकारीले बताउनुभएको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागुऔषध रोकथाम र नियन्त्रणका क्षेत्रमा उक्त अभियानले ठूलो भूमिका खेलिरहेको बताउँदै यसको माध्यमबाट दुव्र्यसनको समस्या समाधानमा ठूलो जागरूकता र परिवर्तन ल्याएको बताउनुभएको छ ।