भारतसँगको मैत्रीपूर्ण फुटबल नेपाली महिला टिमले जित्यो

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा ३-० को जित
कार्तिक १२, २०८२ |खेल ब्युरो
भारतसँगको मैत्रीपूर्ण फुटबल नेपाली महिला टिमले जित्यो

काठमाडौं । प्रदर्शनी मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत नेपालले घरेलु टोली भारतलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको छ ।

सिक्किमको पाल्जोर रंगशालामा नियमित समयमा दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । दुबै टिमले पहिलो हाफमा १-१ गोल गरे पनि दोस्रो हाफ भने गोलरहित बन्यो । मुख्य प्रशिक्षक नविन न्यौपानेले बुधबारको खेलमा पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेका थिए । 

नियमित कप्तान सावित्रा भण्डारी 'साम्बा' टोलीमा नहुँदा अनिता बस्नेतले कप्तानी जिम्मेवारी सम्हालेकी थिइन् । भारतले पनि सुरूवाती ११ का सबै खेलाडी परिवर्तन गर्दै सिक्किमका स्थानीय खेलाडीलाई अवसर दिएको थियो । खेलको ३०औं मिनेटमा भारतकी सौम्य गोगुलोथले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् । निशा थोकरको मिसपासबाट प्राप्त अवसरलाई सौम्यले गोलमा परिणत गरेकी थिइन् ।

पहिलो हाफको इन्ज्युरी समयमा रश्मिकुमारी घिसिङले नेपालका लागि बराबरी गोल फर्काइन् । कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिले सानदार हेडमार्फत गोल गरेकी थिइन् । कप्तान अनिता बस्नेतको फ्रिकिकलाई भारतीय गोलकिपरले पन्च गर्दा खेलको सुरूवाती चरणमै मिना देउवा र सरू लिम्बूका प्रहार पनि गोलमा परिणत हुन सकेनन् । 

बल नियत्रणमा अब्बल रहे पनि नेपालले नियमित समयमा निर्णायक गोल गर्न सकेन । यससँगै खेलको नतिजा स्पट किकबाट निर्धारण गरिएको हो । पेनाल्टीमा नेपालका लागि रस्मी कुमारी घिसिङ, सविता राना मगर र निशा थोकरले गोल गरिन् भने अनिता बस्नेतको प्रहार बाहिरिन पुग्यो । गोल किपर अन्जना राना मगरले पेनाल्टीमा भारतका दुई प्रयास विफल बनाएपछि नेपालले जित हात पार्यो । यससँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमको भारत भ्रमण सकिएको छ ।

दुई दिनअघि यी दुई टोलीले त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा एक अर्काविरूद्ध प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगिताको उपाधि भने इरानले जितेको थियो । इरानसँग ३-० ले पराजित नेपालले भारतलाई २-१ ले हराएको थियो ।