
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि हाल यूएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । २०२३/२७ लिग-२ चक्रको यो ८८ औं खेल हो । एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो । यस त्रिकोणात्मक सिरिजमा दुबै एसियाली टोलीले अमेरिकासँग हार बेहोरिसकेका छन् ।
नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो । अमेरिकाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रनको योगफल तयार गरेको थियो । स्मित पटेलले ७५ तथा मिलिन्द कुमारले ५० बलमा अविजित ७० रन बनाएका थिए ।
जवाफमा नेपालले एकपछि अर्को विकेट गुमाउँदा हारको सामना गर्नु परेको थियो । आसिफ शेख र भीम सार्कीबीचको ६९ रनको साझेदारीबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले योगदान दिन सकेनन् । हरमित सिंहले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नेपाल १ सय ५६ रनमै समेटिएको थियो । लिग-२ मा नेपालका लागि आरिफ शेखले सर्वाधिक ४०४ रन जोडिसकेका छन् । बलिङतर्फ सोमपाल कामीले १८ विकेट लिएका छन् ।
यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो । पहिले ब्याटिङ गर्दै ५० ओभरमा २ सय ११ रन बनाए पनि अमेरिकाले ५ बल बाँकी रहँदै ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ ।
नेपाल हाल लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ । समान खेलमा मात्र ३ जित हात पारेको यूएई ६ अंकसहित पुछारमा छ ।