अमेरिका र दक्षिण कोरियाबीच विस्तारित व्यापार सम्झौतामा सहमति

अमेरिकामा ३ सय ५० अर्ब डलर लगानी गर्न दक्षिण कोरिया तयार
कार्तिक १२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिका र दक्षिण कोरियाबीच विस्तारित व्यापार सम्झौतामा सहमति

काठमाडौं । अमेरिका र दक्षिण कोरिया व्यापार सम्झौताको विस्तारित रूपमा सहमत भएका छन् । 

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको भ्रमणका अवसरमा गत जुलाइमा भएको व्यापार सम्झौताको विस्तृत रूपमा सहमति भएको हो । गत जुलाईमा दुवै मुलुकबीच पारस्परिक भन्सार महसुललाई १५ प्रतिशतमा झार्ने सहमति भए पनि अटोमोबाइल निर्यातमाथि २५ प्रतिशत करसहितका विषय भने समावेश गरिएको थिएन । 

अब दक्षिण कोरियाका अटोमोबाइल कम्पनी पनि १५ प्रतिशत करमा समेटिनेछन् । ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको वार्तापछि दुवै मुलुक यो सहमतिमा पुगेका हुन् । यस्तै, अमेरिकाले माग गरेको ३ सय ५० अर्ब डलर लगानीमध्ये २ सय अर्ब नगदमा र १ सय ५० अर्ब जहाज निर्माण सहयोगमार्फत लगानी गर्न कोरिया तयार भएको छ ।

ट्रम्पको भ्रमणका क्रममा दुई देश प्रविधिसम्बन्धी सहकार्य गर्ने पनि सहमति भएको छ । अमेरिका र दक्षिण कोरियाले कृत्रिम बौद्धिकता र क्वान्टम कम्प्युटिङलगायतका प्रविधिमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको ह्वाइट हाउसले जनाएको छ ।

दक्षिण कोरिया भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले एपेक बिजनेस लिडर्स समिटलाई समेत सम्बोधन गर्नुभएको थियो । ट्रम्प मलेसिया, जापान हुँदै बुधबार दक्षिण कोरिया पुग्नुभएको हो ।