अर्घाखाँची । सन्धिखर्क-१२ डिभर्नामा घरमा काम गर्न राखेकी २६ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सन्धिखर्क नगरपालिकाका ६३ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । घरमा काम गर्न राखेकी अपाङ्गता भएकी युवतीलाई बारम्बार जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
पीडित युवती बोल्न नसक्ने छिन् । पुरुषले जबरजस्ती करणी गरेको भन्दै आफन्तले गत जेठ ३२ गते प्रहरीमा जोहरी दिएका थिए । त्यसपछि उनी फरार थिए । तीन महिनाअघि पीडित युवतीले छोरा जन्माएपछि बच्चासहित प्रहरी कार्यालय पुगेर आरोपित व्यक्तिलाई कारबाही गर्न स्थानीय महिलाहरुले दबाब दिएका थिए ।
फरार रहेका ती पुरुष भारतको लखनउबाट घर आउँदै गर्दा सन्धिखर्क बसपार्कबाट पक्राउ परेको अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनु भयो ।
आरोपीलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पीडित युवतीले छोरा जन्माएपछि उनको घरमा सुत्केरीको स्यारसुसार गर्ने अभिभावक नहुँदा सन्धिर्खक नगरपालिकाले एकजना हेरालुको व्यवस्था गरी २ महिना सेफहाउसमा राखेको थियो ।