संघीय निजामती सेवा विधेयकमा त्रुटि : राष्ट्रिय सभाद्वारा सच्याउने प्रक्रिया सुरू

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय निजामती सेवा विधेयकमा त्रुटि : राष्ट्रिय सभाद्वारा सच्याउने प्रक्रिया सुरू

काठमाडौं । प्रतिनिधि सभाबाट त्रुटिपूर्ण पास भएको संघीय निजामती सेवा विधेयकलाई राष्ट्रिय सभाले सच्याउने प्रक्रिया सुरू गरेको छ । अहिले यो विधेयक राष्ट्रिय सभामा विचाराधीन छ ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेपछि संशोधन प्रक्रिया सुरू भएको हो । सांसदहरूलाई संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिइएको छ । योसँगै सांसदहरूले संशोधन प्रस्तावको तयारी थालेका छन् ।

विशेषगरी संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाशपछि अन्य नियुक्ति लिन २ वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति राज्य व्यवस्था तथा सुशासन समितिले गरे पनि प्रतिनिधि सभामा पुग्दा फेरबदल भएको पाइएको थियो । 

कुलिङ अफ पिरियडमा भएको जालसाजी थाहै नपाई प्रतिनिधिसभाबाट विधेयक पारित भएको थियो । यसलाई सच्याएर पठाउन राज्य व्यवस्था समितिले राष्ट्रिय सभालाई आग्रह गरिसकेको छ । अब राष्ट्रिय सभाका सांसदहरूले संशोधनमार्फत् विधेयक सच्याएर पठाउने प्रक्रिया अघि बढाएका हुन् ।

राष्ट्रिय सभामा पुगेको निजामती विधेयकमा सांसदहरूले कुलिङ अफ पिरियडसँगै अन्य विषय पनि सच्याउनुपर्ने बताएका छन् । सांसदहरूले संशोधन हालेपछि यो विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइने छ । 

समितिमा दफाबार छलफलपछि पुन: राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्छ । प्रतिनिधि सभाले सन्देश पठाएको ६० दिनभित्र राष्ट्रिय सभाले पारित गरेर फिर्ता नपठाए स्वत: प्रमाणीकरणका राष्ट्रपतिसमक्ष पठाउनुपर्ने हुन्छ । 

यही कारण पनि राष्ट्रिय सभाले सकेसम्म चाँडो विधेयकमा भएको त्रुटि सच्याएर पठाउने तयारी गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.