अछाममा दुई किशोरी मृत्यु प्रकरण : ५ जना पक्राउ, विशेषज्ञ टाेली घटनास्थल पुग्दै

माघ १५, २०८१ |खम्म खत्री
अछाममा दुई किशोरी मृत्यु प्रकरण : ५ जना पक्राउ, विशेषज्ञ टाेली घटनास्थल पुग्दै

अछाम । अछामकाे ढकारी गाउँपालिकाका-८ की १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको 'शंकास्पद' मृत्युको अनुसन्धान गर्न अछाम प्रहरीले थप विशेषज्ञ जनशक्ति मगाएको छ । अनुसन्धान गर्न विशेषज्ञ टाेली आज बेलुकासम्म अछाम आइपुग्ने अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यसअघि घटनास्थलमा तालिमप्राप्त कुकुरलाई ल्याएर अनुसन्धान सुरु गरेको प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक अनुसन्धान गर्नलाई विशेषज्ञ टोली मगाएको हो ।

भण्डारीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बोलाउने विषयमा छलफल भइरहेको जनाउनु भयो । घटनाका हरेक विषयलाई सूक्ष्म तरिकाले अनुसन्धान गर्नु जरुरी रहेको प्रहरी प्रमुख भण्डारीकाे भनाइ छ ।

किशोरी मृत्युको घटनामा अहिलेसम्म अछाम प्रहरीले ११ वर्षदेखि ४० वर्षसम्मका ५ जनालाई नियन्त्रणमा लिइसकेको छ । ढकारी गाउँपालिका–८ की एक किशोरीले शुक्रबार दिउँसो करिब २ बजेको समयमा शव भेटिएको विपरीत डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेपछि अनुसन्धान त्यसतर्फ मोडिएको छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दूरीमा भेटिएको थियो । 

घटनास्थलबाट करिब ५ सय मिटरमाथि रक्ताम्मे ठाउँ देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि घटना थप रहस्यमय बन्दै गएको छ ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement