अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत अवस्थामा फेला

माघ १३, २०८१ |खम्म खत्री
अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत अवस्थामा फेला

अछाम । ढकारी गाउँपालिका-८ पल्साँता गाउँका दुई किशोरी मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय कमल खड्काकी १३ वर्षीया छोरी इसराकुमारी खड्का र उदयराम खड्काकी १६ वर्षीया छोरी सरस्वती खड्का जंगलमा शंकास्पद अवस्थामा मृत भेटिएको स्थानीय शिक्षक हर्क खड्काले जानकारी दिनुभयो । मृतकहरु फूपु भदैनी हुन् ।

शनिबार बिहान खाना खाएर बाख्रा चराउन जंगल गएका उनीहरु घर नफर्किएपछि खोजी थालिएपछि उनीहरुलाई साँझ मृत अवस्थामा भेटिएको स्थानीयले जनाएका छन् । बालिकाको शव फेला परेको खबर आएपछि प्रहरी घटनास्थलमा हिँडिसकेको प्रहरी चौकी ढकारीका सहायक हवलदार कृष्णबहादुर बोहोराले जानकारी दिनु भयो ।

एक बालिकाको मोबाइल हिजो बेलुकीसम्म घन्टी बजिरहेको र अर्की बालिकाको स्विचअफ रहेको स्थानीयले बताएका छन् । मृतक बालिकाहरु विद्या प्रवोधन माविमा ७ र ८ कक्षामा अध्ययनरत थिए । शिक्षक खड्काका अनसार दुवैको बुबा नोकरीका लागि भारतमा छन् ।

करिब २० मिटरको दूरीमा मृत भेटिएका मध्ये एउटी बालिकाको टाउको र मुखमा चोट देखिएको र अर्की घोप्टो परेको अवस्थामा शव भेटिएको स्थानीयले जनाएका छन् । घटनाको अनुसन्धानका लागि अछाम प्रहरी प्रमुखसहितको टाेली घटनास्थलतर्फ लागेकाे अछाम प्रहरीले जनाएको छ ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement