काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको समय इन्टरनेटको समय भएको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दै गएको समय रहेको बताउनु भयो ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउनसके नेपालमा धेरै काम गर्न सकिने उहाँकाे भनाइ थियाे । कृत्रिम बौद्धिकताको प्रयोग बढाउने बेला भएको पनि उहाँले बताउनु भयो । आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना नभइ अहिलेको आवश्यकता भएको उहाँकाे भनाइ थियाे ।
यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहहरूमा पनि प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । सूचना र प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनिय भुमिका खेलिरहेको उहाँले बताउनु भयो । प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी बनाउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
सभापति देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन, इनोभेसन प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको बताउनु भयो । नेपाली कांग्रेसले सूचना र प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच विस्तार गर्न उपयोग गर्ने जनतालाई केन्द्रमा राखेको उहाँले बताउनु भयो ।