कपिलवस्तु । वन्यजन्तुका उत्कृष्ट तस्बिर खिच्दै आउनुभएका चुङ्बा शेर्पाका औंलाले अब क्यामराको ट्रिगर थिच्ने छैनन् । न त वाइल्डलाइफ फोटोग्राफीमा उहाँले सँगालेका अनुभवका अनेकौं किस्साहरू नै सुन्न पाइने छ । कन्जरभेसन थ्रो लेन्सका अगुवा चुङ्बा गत पुस २८ गते हामीबाट भौतिक रूपमा बिदा भइसक्नुभएको छ ।
बुढ्यौली उमेरमा आराम गरी रमाएर बस्नुपर्ने बेला उहाँ वाइल्डलाइफ फोटोग्राफी भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । ६ वर्षयता वाइल्डलाइफ फोटोग्राफीमा लागेर काम गरिरहनुभएका उहाँको नाम पछिल्लो समय उज्यालिँदै गएको थियो । वाइल्डलाइफ फोटोग्राफीमा छोटो समयमा उल्लेख्य काम गरेका शेर्पाको निधनले धेरैलाई स्तब्ध बनाएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका चौरीखर्कमा ६४ वर्षअघि जन्मिनुभएका वरिष्ठ वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा अब कहिल्यै फोटो खिच्ने हतारोमा भेटिनु हुनेछैन ।
बाघको तस्बिर खिच्न भनेपछि चुङ्बा जस्तोसुकै जोखिम र चुनौती उठाउन पनि तयार हुनुहुन्थ्यो । एउटा बाघलाई १५ मिनेटसम्म क्यामराको फ्रेमिङमा पारेर तस्बिर खिच्नुभएको थियो । चितवनमा एकैपटक ४ वटा बाघको तस्बिर खिच्न पाउँदाको क्षण कहिल्यै भुल्न नसक्ने उहाँ बताउनुहुन्थ्यो । बाघकै तस्बिर खिच्न शुक्लाफाँटा १५ पटक, बर्दिया १६ पटक र चितवन ३५ पटक पुग्नुभएको थियो । उहाँले खिचेका बाघका चित्ताकर्षक तस्बिरले विश्व बाघ दिवसका दिन काठमाडौंस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग परिसरमा अनावरण गरिने होडिङ बोर्ड मनमोहक देखिन्थ्यो ।
चुङ्बाले तराईका फाँटदेखि उच्चहिमाली भेगका ३ सयभन्दा बढी प्रजातिका चराका तस्बिर खिच्नुभएको छ । तराईको जंगली बिरालोदेखि हिमालको याकसम्मका ३५ बढी प्रजातिका वन्यजन्तु उहाँको क्यामरामा अटाएका छन् । जीवनको अन्तिम तस्बिर पुस ११ गते काठमाडौंको नागदहमा हरियो टाउके हाँसको खिचेर अर्का वन्यजन्तु फोटोग्राफर पेम्बा शेर्पालाई पठाउनुभएको थियो ।
तस्बिर खिच्ने क्रममा जंगली मौरी, हात्ती र बाघको आक्रमणमा परे पनि उहाँले काम छाड्नुभएन । पर्यटन प्रवर्द्धनका लागि माग्नेहरूलाई आफूले लाखौं खर्चेर खिचेका तस्बिर निःशुल्क दिनुहुन्थ्यो । युवा पुस्तालाई फोटोग्राफीमा रुचि बढाउन उहाँले गत वर्षदेखि वाइल्डलाइफ फोटो प्रतियोगिता समेत गर्दै आउनुभएको थियो ।
दुई साता कुरेर उहाँले हिउँचितुवाको फोटो खिच्नुभयो । हाइअल्टिच्यूडको प्रतिकूल मौसममा उहाँ हाइडिङ टेन्ट टाँगेर दैनिक १२/१३ घण्टा बस्नुभयो । १६ औं दिन ३ अक्टोबर २०१९, साँझ ५ बजेतिर एक्कासि हिउँचितुवा देख्दा खुशी हुँदै विभिन्न एंगलका ४२ स्न्याप खिच्नुभयो । त्यही नै अहिले मुलुकमा हिउँचितुवाको उत्कृष्ट तस्बिर बनेको छ ।
०७९ असोजमा दुई साताको मेहनतपछि हुम्लाको लिमी भ्याली पुगेर दुर्लभ जंगली याकको तस्बिर खिच्न सफल हुनुभयो । नेपालमै दोस्रोपटक जंगली याकको तस्बिर खिाचेपछि उहाँको चर्चा चुलिएको थियो ।