रामायण सर्किट अन्तर्गत अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ आयोजना

पुस ८, २०८१ |अनिल मिश्र
रामायण सर्किट अन्तर्गत अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ आयोजना

जनकपुर । जगत जननी जानकीको जन्म स्थल जनकपुरधाममा रामायण सर्किट अन्तर्गत अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ आयोजना भएको छ । दुई दिने रामायण कन्क्लेभले जनकपुरधाम र अयोध्या भगिनी शहरको रुपमा विकास हुने आशा फेरि पलाएको छ । किन भने रामायाण सर्किट अन्तर्गत प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र अबधको राजधानी अयोध्याको विकासका लागि केही वर्ष अघि नेपाल र भारत बीचभएको सम्झौता अहिले सम्म कार्यान्वयन भएको छैन ।

मिथिलाकी राजकुमारी जानकी र अबधका राजकुमार रामबीच त्रेता युगमा भएको वैवाहिक सम्बन्धलाई अझ प्रगाढ बनाउन रामायाण सर्किट परियोजना अन्तर्गत दोस्रो पटक जनकपुरधाममा रामायण कन्क्लेभ आयोजना गरियो । रामायण सर्किट योजना अन्तर्गत भारत उत्तर प्रदेशको पर्यटन विभाग र जनकपुरधामको जानकी मन्दिरको संयुक्त आयोजनामा गरिएको कन्क्लेभमा सन्त समागम र नेपाल भारतका प्रख्यात विद्वानहरुद्वारा रामायणको विषद् चर्चा गरियो ।

तत्कालीन समयमा राजा जनक द्वारा आयोजित धनुष यज्ञमा सहभागी हुन राम-लक्ष्मण अयोध्याबाट जनकपुरधाम आउनुभएको बाटो लगायत रामायणकालीन स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने यसको उद्देश्य छ । दुई दिने कन्क्लेभमा भारतको सर्वाेत्कृष्ट पद्मश्री पुरस्कारबाट सम्मानित भजन सम्राट अनुप जलोटाको भजन सन्ध्या, जनकपुरधामको मिथिला नाट्यकला परिषद्को जानकी लीला गीति नाटक, दुवै देशका प्रसिद्ध कविहरु द्वारा कविता वाचन, गित संगित, लोक नृत्य लगायत अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त पद्मश्री मालिनी अवस्थीले गीत र नृत्य प्रस्तुत गर्नुभयो ।

सीताले अपहरित अवस्था बिताएको श्रीलंका र भारतको विभिन्न ८ स्थानमा रामायण कन्क्लेभ गर्ने योजना छ । यसले नयाा पुस्तालाई रामायण बारे गहिरो जानकारी प्राप्त हुनुका साथै दुवै देशबीचको धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहायक हुनेे विश्वास आयोजकको छ । विवाह पञ्चमीका अवसरमा विहेको निम्तो स्वरुप पाहुर लिएर अयोध्या पुग्नुभएका मधेश प्रदेशका मुख्यमन्त्रीले यसलाई उत्सवको रुपमा लिनुभएको छ ।

मिथिला-अबध युगौं पुरानो सम्बन्धलाई संस्थागत गर्न एक वर्ष अघि भारतीय पर्यटक बोकेको रेल जनकपुरधाम आएको थियो । जहाँ जहाँ चरण परे रघुवरके स्थलहरुको अबलोक गर्ने उद्देश्य सहित सुरुभएको रेल दोस्रो पटक आएको छैन भने केहि महिना अघि निकै चर्चा पाएको जनकपुरधाम-आयोध्या सातामा एक दिन सञ्चालन हुने भनिएको रेल सेवाको अहिले सम्म कुनै पत्तो छैन ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


Enter Kantipur TV HD
Advertisement