मुस्ताङ । ललितपुर महानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
आफ्ना प्रतिनिधिसहित मुस्ताङ पुग्नुभएका नगर प्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्धन गर्नुका साथै असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको बताइएको छ ।
समझदारी पत्रमा हस्ताक्षरपछि नगर प्रमुख चिरीबाबु महर्जनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रकृतिले यो पालिकालाई छताछुल्ल वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रुपमा जोडिने छौँ । ’
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताउनु भयो । उहाँले हिमालपारिको जिल्ला गर्नुपर्ने काम प्रशस्तै भएको बताउँदै वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको बताउनु भयो ।