अमेरिकाको सडकमा दुर्घटित रुकुम पश्चिमका सुरेशको सपना

मंसिर १२, २०८१ |महेश केसी
अमेरिकाको सडकमा दुर्घटित रुकुम पश्चिमका सुरेशको सपना

रुकुम पश्चिम । ठुलो आर्थिक लाभको सपना बोकेर ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठविसकोट नगरपालिका-७ स्थित औलीगाउँका सुरेश केसीको गत शुक्रबार दिउँसो अमेरिकाको भर्जिनियामा भएको सवारी दुर्घटनामा परी ज्यान गयो । यो खबर जब उहाँको घरमा पुग्यो घर-परिवार शोकमा डुबेको छ ।

गत २०७९ फागुण १८ गते अमेरिकाका लागी घरबाट निस्केका सुरेश २०८० पौष २० गते त्यहाँ पुग्नुभएको थियो । सुरेश त्यहाँ एक रेष्टुरेन्टमा काम गर्नुहुन्थ्यो, काम गरेर फर्किने बेलामा उहाँ चढेको कार दुर्घटना हुदाँ उहाँसँगै कारमा बसेका बर्दियाका विवेश सुवेदीको पनि ज्यान गयो । कार चालक पनि नेपाली भएको र उहाँ घाईते भएको बताइएको छ । चालक अहिले अमेरिकी प्रहरीको नियन्त्रणमा छन् । करिब ८० लाख रुपैयाँ दलाललाई बुझाएर तल्लो बाटो हुँदै अमेरिका पुगेर ८ महिनाअघि काममा लागेका सुरेशले अहिलेसम्म कमाएको करिब १४ लाख रुपैयाँ मात्रै घरमा पठाएको परिवारको भनाई छ ।

सयकडा ३ देखि ५ प्रतिशत ब्याजमा ऋण लिएर छोरालाई अमेरिका पठाएको बताउने सुरेशको परिवारमा अहिले एकातिर छोरा बितेको पीर त अर्काेतिर ऋणको भारी थपिएको छ । छोरा बित्नुभन्दा दुई दिनअघि फोनमा कुरा भएको सम्झिँदै सुरेशकी आमाले केही दिनमा छोराले पैसा पठाउछु भनेको बताउनु भयो । तर त्यही कुराकानी नै अन्तिम भयो । सुरेशको घरमा ४३ वर्षकी आमा, ४६ वर्षका बा अनि उहाँका तीन वटी बहिनी र ३ वर्षका एकजना भाई छन् । घरमा कमाउने मान्छेको नै अनाहकमा ज्यान गएपछि घर-परिवारमा शोक परेको हो ।

अमेरिकामा त्यहाँको प्रहरीले घटनाबारे छानबिन गरिरहेकोले अहिलेसम्म सुरेशको शव अस्पताल मै रहेको र अगामी शुक्रबारसम्म अन्तेष्टीका लागि शव दिने खबर आएको परिवारको भनाई छ । मृत छोरा भेट्न उता जाने सम्भावना नभएपछि यतै कुशको शव बनाएर दाहसंस्कार गर्ने परिवारको तयारी छ ।

पछिल्ला केही वर्षयता रुकुमका विभिन्न गाउँ-वस्तीहरुबाट पैसा कमाउने लोभ देखाएर मानव तस्करले अवैध बाटो हुँदै मान्छेहरुलाई अमेरिकातर्फ लैजाने गरेका छन् । यसमध्ये कोहीको पैसा मात्रै खेर जाने, कोही बाटोमै अलपत्र पर्ने र अमेरिका पुगेकाहरुले पनि विभिन्न तनाब र झन्झट बेहोर्नुका साथै यस्ता विभिन्न दुर्घटनामा परेर अकालमा ज्यान समेत गुमाउनु परेका कयौं उदाहरण छन् । यस्तो हुँदापनि अमेरिकाप्रतिको मोह भने घटेको छैन । 


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement