महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरभित्र रहेको शिवलिङ अज्ञात व्यक्तिले तोडफोड गरेको विरोधमा स्थानीय आन्दोलित भएका छन् ।
महोत्तरीको पिपरास्थित शिव मन्दिरभित्र रहेको शिवलिङ तोडफोड गरेको विरोधमा स्थानीय युवाले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूको आन्दोलनको कारण बिहान करिब १० बजेदेखि नै जनकपुर-जलेश्वर सडक अवरुद्ध भएको थियो ।
आन्दोलनस्थलमा प्रहरी निरीक्षक विशाल सिंहको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । स्थानीय युवाहरू आक्रोशित बनेकाले अवस्था तनावग्रस्त भएको थियो ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तु जयसवालले मन्दिरभित्र तोडफोड गरेको विरोधमा स्थानीयले सडक अवरुद्ध पारेका थिए र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता पश्चात सहमतिको भएको जानकारी दिनुभयो ।