जनकपुरधाममा विवाह पञ्चमीको तयारी सुरु

मंसिर ५, २०८१ |अनिल मिश्र
जनकपुरधाममा विवाह पञ्चमीको तयारी सुरु

जनकपुर । त्रेतायुगमा राम र जानकीबीच भएको विवाहको सम्झना प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमीको तयारी जनकपुरधाममा सुरु भएको छ । यसका लागि प्राचीन मिथिलाको राजधानी जनकपुरधामदेखि अवधको राजधानी उत्तर प्रदेशको अयोध्यासम्म निम्तो पठाइएको छ । तर, दुई देशबीच रहेको प्राचीन सम्बन्धलाई अझ प्रगाढ बनाउन भारत सरकारले पटक पटक गरेको घोषणा अहिलेसम्म कार्यान्वयन भएको छैन । त्यसो त भारतलाई घोषणा कार्यान्वयनका लागि नेपाल पक्षले समेत ताकेता गर्न सकेको छैन ।

सम्पूर्ण शक्तिको स्रोत छठ पर्व र दाजुभाइ दिदीबहिनी बीचको अमर प्रेम र स्नेहको पर्व सामाचकेवाको समापन सँगै जनकपुरधाममा रामजानकी विवाह पञ्चमीको तयारी सुरुभएको छ । त्रेता युगमा मंसिर शुक्लपक्षको पञ्चमी तिथिमा अयोध्याका राजा दशरथका पुत्र रामको मिथिला नरेश जनककी पुत्री जानकीसाग भएको वैवाहिक समारोहको सम्झना स्वरप ताजा बनाउन त्यसको तयारीमा जानकी मन्दिर, प्रदेश र स्थानीय सरकारसागै विभिन्न संघ संस्था र युवा क्लबहरु जुटेका छन् ।

मिथिला सस्ंकृतिको महत्वपूर्ण अंग विवाह पञ्चमीलाई भव्य र सभ्य बनाउन यस वर्ष जनकपुरधामबाट अयोध्या पाहुर सहित निम्तो पठाइएको छ । जनकपुरधाम तर्फ सबैको ध्यान तान्न मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह, प्रदेशका मन्त्रीहरु, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह लगायत विभिन्न संघ संस्थाका २ सय ५० जना भन्दा बढिको प्रतिनिधि मण्डल अयोध्या गएको छ ।

यो यात्राले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने र विकास निर्माणले गति लिने मुख्यमन्त्री सिंहको अपेक्षा रहेपनि यसअघि भारत सरकारले गरेका महत्वपूर्ण घोषणाहरु अझै कार्यान्वयन हुन सकेका छैनन् । रामायण सर्किट अन्तरगत सडक सञ्जाल, अयोध्या जनकपुर रेल सेवा र विमान सेवा अहिले सम्म सुरु हुन सकेको छैन ।

यो भन्दा पनि अच्चम त के छ भने दुबै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा हरियो झण्डा देखाएर सुरुवात गर्नुभएको जनकपुरधाम अयोध्या बस सेवा अहिले बन्द छ । जनकपुरधाम आएर नै ७ बर्ष अघि भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीले मिथिला मध्यमा परिक्रमाको दुई वटा विश्राम स्थलमा धर्मशाला निर्माण र प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि गर्नुभएको भारतीय रुपैयाँ सय करोडको योजनाको अहिलेसम्म कुनै पत्तो छैन ।

घोषणा कार्यान्वयन नहुनुमा नेपाली पक्षकै कमजोरी रहेको भारतले बताउदै आएको छ । साताव्यापी रूपमा मनाईने विवाह पञ्चमी मेला भर्न ठुलो संख्यामा भारतका विभिन्न स्थानका तिर्थालुहरु जनकपुरधाम आउने गरेका छन् । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


Enter Kantipur TV HD
Advertisement