दुई पटक जेलबाट भागेका हत्याका दोषीलाई सुनसरी प्रहरीले पक्रियो

कार्तिक २३, २०८१ |अर्जुन सुवेदी
दुई पटक जेलबाट भागेका हत्याका दोषीलाई सुनसरी प्रहरीले पक्रियो

सुनसरी । क्षेत्रीय कारागार झुम्काबाट १२ वर्षअघि सुरुङ खनेर फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादव पक्राउ परेका हुन् । 

जेलबाट दुई पटक भागेका यादवलाई प्रहरीले शुक्रबार बिहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । अदालतको फैसलापछि थुनामा रहेका उनीसहित १२ जना कैदी २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका थिए । यादवलाई पक्राउ गर्न प्रहरीले एक राउन्ड गोलीसमेत चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनु भयो ।

२०६५ साल बैशाख १६ गते सुनसरी साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको विनायक र श्याम भन्ने श्यामकुमार यादवले गोली हानी हत्या गरेका थिए । सो घटनामा संलग्न भएका विनायक एक थान पेस्तोल र ११ राउन्ड गोलीसहित पक्राउ परेका थिए । 

जिल्ला अदालत सुनसरीले उनलाई २० वर्ष ८ महिना १४ दिन कैदको फैसला सुनाएको थियो । झुम्का कारागारबाट फरार भएका यादवलाई प्रहरीले सप्तरीको गोबरगाडाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीका लागि पठाएको थियो । त्यहाँबाट पनि उनी २०७२ वैशाख १२ गते भूकम्प आएका बेला भागेका थिए ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement