देउसी भैलो मार्फत रक्तदानबारे सचेतना

कार्तिक १८, २०८१ |राजु चौधरी
देउसी भैलो मार्फत रक्तदानबारे सचेतना

चितवन । तिहारमा देउसी-भैलो सामान्यतयः मनोरञ्जनका लागि खेल्ने गरिएको छ । तर चितवनमा ब्लड डोनर्स सोसाइटी नेपालले भने फरक उद्धेश्यले देउसी भैलो कार्यक्रम गरिरहेको छ । रगत खोजिदिने उद्धेश्यले स्थापना भएको ब्लड डोनर्स सोसाइटीले देउसी भैलोलाई रक्तदानबारे सचेतना जगाउने अभियानको रुपमा उपयोग गरेको छ । 

देउसी भैलो खेल्दै गाइएका यी गीतले रक्तदानजस्तो पवित्र काम गर्नमा प्रेरणा जगाईरहेको छ । पछिल्लो समय रगत अभाव बढ्दै गइरहेका बेला मौलिक देउसी भैलो कार्यक्रममार्फत् रक्तदान गर्नमा उत्प्रेरणा जगाउन चितवनका युवा सक्रिय छन् । रगत अभावका कारण कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ युवाहरुले स्थापना गरेको संस्था ब्लड डोनर्स सोसाइटी नेपालले अहिले आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्दै रक्तदान जस्तो पवित्र काम गर्न प्रेरित गरिरहेको छ ।

ब्लड डोनर्स सोसाइटी नेपालले पछिल्लो समय देशैभर रक्तदान अभियान चलाइरहेको छ । सबैभन्दा धेरै रगत चाहिने जिल्लाको रुपमा रहेको चितवनबाट सुरु गरिएको यो अभियानलाई थप प्रभावकारी बनाउन देउसी भैलो कार्यक्रमलाई उपयोग गरिएको हो । रक्तदानबारे जनेचतना फैलाउन पनि सहज हुने र यसबाट उठ्ने रकमले रगतकै क्षेत्रमा काम गर्ने गरि यो अभियान चलाईएको हो ।

स्थानीय कलाकारहरुलाई साथमा लिएर सोसाइटीले अहिले चितवनका विभिन्न ठाउामा मौलिक संस्कृति प्रस्तुत गर्दै देउसी खेलिरहेको छ । ती सबै कार्यले रगतकै बारेमा चेतना फैलाइरहेको हुन्छ ।

रमाइलो गर्ने उद्देश्यले मात्रै खेलिने देउसी भैलोलाई रक्तदान जस्तो पवित्र र महत्वपूर्ण कार्यमा जोडेर खेलिनुले ठूलो अर्थ राखेको छ । चाडपर्वमा संस्कृति संरक्षणसंगै यस किसिमको सामाजिक कार्यलाई पनि अगाडि बढाउनु सराहनीय हो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement