ललितपुर । 'रातो मच्छिन्द्रनाथको जात्रामा देखाइने भोटो कसको हो ?' लिच्छविकालदेखि सोधिँदै आएको यो प्रश्न अझै अनुत्तरित छ । हरेक वर्ष झैं यस वर्ष पनि ललितपुरको जावलाखेलमा ३२ हात लामो मच्छिन्द्रनाथको रथबाट बहुमूल्य मणि माणिक्य धातुजडित भोटो देखाएर 'कसको हो ?' भन्ने प्रश्न दोहोर्याइयो ।
सदा झैं यसपाली पनि यो प्रश्न औपचारिकतामै सीमित भयो । सबुत प्रमाण लिएर कोही पनि ‘भोटो मेरो’ भन्दै आएन । त्यसो त मुलुककै सबैभन्दा लामो र भिन्न किसिमको लिच्छविकालीन यो जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्न ललितपुर महानगरपालिकाले सक्रियता बढाएको छ ।
जात्रा पर्वमा मुलुककै छुट्टै पहिचान बोकेको रातो मच्छिन्द्रनाथ रथको चारै दिशाबाट बहुमूल्य नवरत्न जडित भोटो देखाइयो । मच्छिन्द्रनाथका पानेजुहरूको जिम्मामा रहेको दुर्लभ बहुमूल्य भोटो हजारौं दर्शकमाझ गुठी संस्थान ललितपुरका प्रमुख जितेन्द्र चित्रकारले देखाउनुभएको हो । लिच्छविकालीन यो जात्रामा राष्ट्रप्रमुखको उपस्थितिमा रथको चारैदिशाबाट तीन पटक भोटो देखाउने परम्परा छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा जावलखेलमा रथको बार्दलीबाट भोटो देखाउने चलन छ ।
हिन्दू र बौद्ध धर्मालम्वीले भिन्दाभिन्दै देवताको रूपमा पुजिने मच्छिन्द्रनाथ जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । लिच्छविकालमा कर्कोटक नागकी श्रीमतीको आँखामा लागेको रोग कसैले पनि निको पार्न नसकेको अवस्थामा भक्तपुरका ज्यापु वैद्यले उपचार गरिदिएपछि नाग खुशी भई किसानलाई बहुमूल्य भोटो उपहार दिएको किवंदन्ती छ । पछि उक्त भोटो चोरी भइ मनुष्यरूपी भूतले लगाएर आएको देखेपछि किसान र भूतबीच भएको विवाद सुल्झाउने जिम्मा मच्छिन्द्रनाथ कहाँ पुगेपछि हरेक वर्ष मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन भोटो कसको हो भने देखाउने गरिएको हो ।
लिच्छविकालमा देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले पानी परेर सहकाल ल्याएको स्मरणमा यो जात्रा मनाउन थालिएको किंवदन्ती छ । रातो मच्छिन्द्रनाथको जात्रालाई मुलुककै लामो अवधिसम्म मनाइने जात्रा मानिन्छ । जात्राका क्रममा राष्ट्रप्रमुख लगायत सबैले जीवित देवी कुमारीको समेत दर्शन र पूजा समेत गर्ने चलन छ । भोटो जात्राको अवलोकन गरे रोग नष्ट हुने र परिवार सुख समृद्धी हुने जनविश्वास छ ।
भोटो देखाइसँगै मच्छिन्द्रनाथको मूलदेवतालाई रथबाट ओराली खटमा राखेर बाजागाजाका साथ बुंगमतीस्थित उनकै मन्दिरमा पुर्याउने चलन छ । वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको रथ जात्रा हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन अर्थात यस वर्ष वैशाख १७ गते पुल्चोकबाट प्रारम्भ भएको थियो । मुलुककै छुट्टै पहिचान बोकेको यो जात्रालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न ललितपुर महानगरपालिका लागिपरेको छ । यसका लागि महानगरपालिकाले प्रक्रिया समेत अघि बढाएको छ ।