सिँचाइ पूर्वाधार नहुँदा २ वर्षभित्र देशलाई धान–चामलमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य पूरा हुनेमा आशंका

जेष्ठ १८, २०८२ |सुमन पन्थ
सिँचाइ पूर्वाधार नहुँदा २ वर्षभित्र देशलाई धान–चामलमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य पूरा हुनेमा आशंका

काठमाडौं । सरकारले बजेटमार्फत २ वर्षभित्र देशलाई धान चामलमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ, त्यसका लागि चैते धान खेती प्रवर्द्धन गर्ने सरकारी योजना छ । तर, सिँचाइ अभावका कारण १ लाख ९ हजार हेक्टरमा मात्रै चैते धान खेती हुने गरेको छ । 

यस्तो अवस्थामा सरकारले कसरी देशलाई धान चामलमा आत्मनिर्भर बनाउला ?

नेपालमा गत वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भयो । तर, वार्षिक माग भने ६९ लाख टन हाराहारी छ । अपुग रहेको १० लाख टन धान चैते धान खेती प्रवर्द्धन गरी पूर्ति गर्ने सरकारको तयारी छ । तर किसान भन्छन् चैते धान प्रवर्द्धनका लागि सबैभन्दा पहिला सिँचाइ प्रणाली ठीक हुनुपर्छ । बाराका किसानको दुःखेसो छ । हाम्रो खेतमा सिँचाइ प्रणाली नै छैन ।

सिँचाइ पूर्वाधारको विकास नहुँदा अहिले एक लाख ९ हजार हेक्टरमा मात्रै चैते धान खेती हुने गरेको कृषि मन्त्रालयको तथ्यांक छ ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा अर्थमन्त्री पौडेलले धानमा आत्मनिर्भर हुने गरी कार्यक्रम ल्याइएकाले यसलाई सफल पारेरै छाड्ने बताउनुभएको छ ।

नेपालमा वर्षे धानको तुलनामा चैते धानको उत्पादकत्व बढी हुन्छ । वर्षे धानको उत्पादकत्व प्रतिहेक्टर ३.९० मेट्रिक टन रहँदा चैते धानको उत्पादकत्व ४.९७ टन रहने गरेको छ । नेपालमा यसको उत्पादन वार्षिक ४४ हजार टन छ । 

यता विज्ञहरूले भने धानमा आत्मनिर्भर हुनका लागि बढी उपयोग हुने मसिनो धान खेतीको प्रवर्द्धन गर्न सुझाएका छन् । त्यस्तै सि‌ँचाइ तथा कृषि मन्त्रालय र स्थानीय पालिकाबीच समन्वय आवश्यक रहेको पनि उनीहरूको भनाइ छ ।

प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढाउन कृषि मन्त्रालय मातहतकै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा धान सुपर जोन कार्यक्रम पनि सञ्चालनमा छ । त्यस्तै तराईका जिल्लामा पकेट क्षेत्र सञ्चालन गरिएको छ । 

तर आवश्यकता अनुसार उत्पादन हुन नसक्दा बर्सेनि १९ अर्बको धान चामल आयात गर्नुपर्ने स्थिति छ । तसर्थ सिँचाइ पूर्वाधारको दायरा विस्तार गर्दै चैते तथा वर्षे धान धान खेतीलाई बढावा दिनुपर्ने भएको हो ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।