नवलपरासी । माटोको उत्पादकत्व बढाउँदै रासायनिक मलमाथिको परनिर्भरता कम गर्न नवलपुरको विनयी त्रिवेणी सामुदायिक वनले जैविक मलको व्यावसायिक उत्पादन सुरु गरेको छ । वन क्षेत्रमा खेर जाने घाँस, पातपतिङ्गर र झाडीलाई सङ्कलन गरेर महिला समूहकै सक्रियतामा विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासमा जैविक मल कारखाना सञ्चालन गरिएको हो ।
मल उद्यमले महिलालाई रोजगारीमा पनि सघाएको छ । समूहले २ रुपैयाँ किलोमा हरियो झारपात किनेर त्यसको प्रशोधन गरी ९० दिनमा मल उत्पादन गर्दै आएको छ । वन पैदावार सङ्कलनमा जिल्लाका अरू वनबाट समेत झारपात सङ्कलन गर्दा ८० जना महिलाहरूले रोजगारी पाएका छन् । उत्पादित मल पालिकाभित्र प्रतिकिलो २० देखि २५ किलो रुपैयाँमा बिक्री गरिएको छ ।
रासायनिक मल प्रयोग छाड्न सुरुमा प्रतिकठ्ठा १० किलोबाट सुरु गर्न सकिने र पछि प्रतिकठ्ठा २ किलोले पुग्ने उनीहरूको भनाइ छ । मल उत्पादन गर्न सरदर तीन महिना लाग्ने गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ र स्थानीय तहले समेत सघाएका छन् । महिला सक्रियतामा प्रागरिक मल उत्पादन उद्योग नै सञ्चालन सुरु भएपछि विनयी त्रिवेणी गाउँपालिकाले रासायनिक मल मुक्त पालिका बनाउने योजना समेत ल्याएको छ । समूहले वन उद्यम दर्ता गर्न कानुनी समस्या नभए देशैभर निर्यात गर्नेगरी मल उत्पादन गर्न सकिने जनाएको छ ।