व्यवस्थाप्रति तेर्सिएको प्रश्नसँग तर्किइरहेको नेतृत्व

जेष्ठ १८, २०८२ |प्रकाश बम|दीपक आचार्य
व्यवस्थाप्रति तेर्सिएको प्रश्नसँग तर्किइरहेको नेतृत्व

काठमाडौं । २००७ सालको आन्दोलन गर्दा नेताहरू युवा थिए । यसैगरी २०४६ सालको आन्दोलनमा पनि नेताहरू युवा उमेरकै थिए । यस कारण आन्दोलन सफल भयो । आन्दोलन सफल भएपछि भने शासन सञ्चालनमा समयमै पुस्तान्तरण हुनै छाड्यो । नेताहरू अन्तिम समयसम्म पनि पदमा रहे । उनीहरूले नयाँ पुस्ताको नेतृत्व गर्नै सकेनन् र सुरु भयो बदनामीको शृंखला ।

यही कारण माघ १९ जस्ता ‘कू’ भए । यसपछि ०६२/६३ को आन्दोलन भयो । आन्दोलन सफल भएपछि त्यसलाई संस्थागत गर्न नेतृत्व चुक्दै गयो । अहिले यस्तो अवस्था आएको छ कि नेतृत्वको गल्तीको फाइदा उठाउँदै राजावादीहरू व्यवस्था विरोधी आन्दोलन गरिरहेका छन् भने सामाजिक सञ्जालमा नयाँ पुस्ता आक्रोश पोखिरहेको छ । 

पुराना पुस्ताले नयाँ पुस्ताको भाव नबुझ्दा सम्मानित पुराना पुस्ताप्रति आक्रोश छ । लोकतन्त्रका लागि लडेका दलविरुद्ध आक्रोश छ । अनि यसैको आडमा व्यवस्था नै बेठीक भन्ने आवाज उठेको छ । तर, नेतृत्व आफ्नो गल्ती स्वीकार्न तयार देखिँदैन । 

यसको एक मात्र समाधान भनेको आवधिक निर्वाचन र दलीय महाधिवेशनमार्फत नेतृत्व हस्तन्तरण गर्दै जाने र जसको युग उसकै नेतृत्व हुनु हो । न कि व्यवस्थाको विकल्प खोज्ने । अहिले राष्ट्रिय आह्वान गरेर यो कुरा बुझाउने नेतृत्वको समेत अभाव छ ।

गणतन्त्रसँगै हुर्किएको पुस्तालाई अहिले 'कतै यो व्यवस्थाकै कारण सुशासन र सेवा प्रवाह लगायतका विषयमा काम हुन नसकेको हो कि' जस्तो लागेको देखिन्छ । तर, गणतन्त्रले नभई नेता र शासकका काम गर्ने शैली प्रमुख कारण हो भनेर न यो पुस्ताले बुझेको छ, न कसैले बुझाउने प्रयास नै गरेको देखिन्छ । विकास निर्माण र सेवाप्रवाहमा भन्दा सत्ताको लुछाचुँडीमा ध्यान दिने दलहरूको प्रवृत्तिले समेत व्यवस्थामाथि प्रश्न उठ्ने स्थिति सिर्जना गरिरहेको छ ।

गणतन्त्र प्राप्तिपछि दलहरूले धेरै निकायलाई राजनीतीकरण गरेकेा आरोप लाग्ने गर्छ । संवैधानिक निकायदेखि अनुगमन, मूल्यांकन गर्ने निकायसम्ममा दलीय भागबन्डा गर्ने गरिएको भन्दै विरोध हुने गरेको छ । यस्तो हुनुका पछाडि व्यवस्थाको कमजोरी होइन । केही सीमित नेताले गरेका कमजोरीका कारण समग्र व्यवस्थामाथि प्रश्न उठने अवस्था आउनु ठीक नभएको संविधानविद्हरूको धारणा छ ।

पछिल्लो समय राजनीतिमा आएका दलहरूले पनि नागरिकमा अपेक्षा अनुसार काम गरे नागरिकले आफैं बुझ्ने परिस्थिति निर्माण हुने धारणा राख्छन् ।

लोकतन्त्रिक आन्दोलनलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गरेको पुस्ता समेत नेतृत्वलाई दोष देखाएर आफू पन्छिन खोजेको देखिन्छ ।

लोकतन्त्रिक आन्दोलनमा संघर्ष गरेको पुस्ता पनि अहिले पार्टीको जिम्मेवार पदमा पुगिसकेको छ । तर, नेतृत्व परिवर्तन गरेपछि सबै ठीक हुन्छ र अहिलेका सबै खराब भन्ने मान्यता स्थापित गरेर समस्याको समाधान देखिँदैन । संघीय लोकतान्त्रिक गणतन्त्र एउटा उन्नत राजनीतिक प्रणाली हो । यसमा दुई मत नै छैन । 

तर यसलाई सञ्चालन गर्नेहरूको गल्तीका कारण सडकमा राजावादी र सामाजिक सञ्जालमा नयाँ पुस्ता गणतन्त्र विरोधी कुरा गरिरहेका छन् । यस कारण सबैभन्दा पहिला नेतृत्वले आफूले गरेको गल्ती स्वीकार गरेर सबैलाई विश्वासमा लिने र अब उप्रान्त त्यो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता र व्यवहार आवश्यक छ । 

यसको एक मात्र विकल्प आवधिक निर्वाचन र महाधिवेशन मार्फत नेतृत्व हस्तान्तरण नै । जसको युग उसकै नेतृत्व ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।