काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जातीय भेदभाव र छुवाछुत जस्ता सामाजिक कुसंस्कार अन्त्यका लागि पीडित र पीडकबीच स्पष्ट सम्झौता आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौंमा राष्ट्रिय समता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री परियारले जातीय विभेदको अन्त्य केवल कानूनी प्रावधानबाट नभई सामाजिक, मानसिक र नैतिक रूपान्तरणबाट सम्भव हुने बताउनुभएको हो ।
पीडित र पीडकबीच सम्झौता नभएसम्म जातीय भेदभाव अन्त्य नहुने उहाँको भनाइ छ । उहाँले जातीय भेदभावको अन्त्य गर्न तल्लो तहबाट नभई नीति निर्माणको तहबाट पहल गरिनुपर्ने बताउनु भयो ।
जातीय समावेशिता, समानता र न्याय सुनिश्चित गर्न कानूनी तथा सामाजिक रूपान्तरणको आवश्यकता उहाँको भनाइ छ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले जातीय विभेद अन्त्य गर्न स्पष्ट रूपमा कानूनी व्यवस्था हुनुपर्ने बताउनु भयो ।
संसद्मा बोलेर मात्र जातीय भेदभाव र छुवाछुत अन्त्य नहुने उल्लेख गर्दै उहाँले सकारात्मक आन्दोलन आवश्यक रहेको बताउनु भयो । उहाँले तल्लो तहबाट दलितको मुद्दा नबोलेको आरोप लाग्ने गरेको र संसदमा बोल्नको लागि दलितको मुद्दा मात्रै छ र ? प्रश्न गरिने भएको कारण समस्या भएको उहाँको भनाइ छ ।
सांसद मिजारले अहिले पनि जातीय भेदभाव र छुवाछुतको विषय संक्रमणकालिन अवस्थामै रहेको उल्लेख गर्दै भेदभावको अन्त्य गर्नको लागि ठूलो आन्दोलको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।