बोडेमा बारा महोत्सव सम्पन्न

जेष्ठ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
बोडेमा बारा महोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरकाे मध्यपुर थिमि नगरपालिकास्थित बोडेमा ‘वः फेस्टिभल’ अर्थात् बारा महोत्सव सम्पन्न भएकाे छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले वः फेस्टिभल गर्दै आएकाे समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिनुभयाे ।

मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको व: फेस्टिभलमा २५ वटा नेवारी तथा अन्य परिकारका स्टलहरू थिए । मेलाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको पर्यटन प्रवर्द्धन तथा बाराकाे परम्परागत महत्त्वकाे विषयमा युवा पुस्तालाई जानकारी दिन महाेत्सवकाे आयाेजना गरिएकाे बताउनुभयाे । फेस्टिभलमा विभिन्न घरेलु उद्याेगका सामग्री, हस्तकला, पुस्तक प्रदर्शनी तथा विभिन्न जात्राकाे फाेटाे प्रदर्शनी समेत गरिएकाे आयाेजकले जनाएकाे छ ।

पर्यटन विकास समितिका अध्यक्ष प्रजापतिका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वः को प्रयोग गरिन्छ । यी परिकार माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वः/लापी वः, खें वः ख्वल्चा वः, भु वः/तःपा वः, सू वः/बारा वः का नामले पनि चिनिन्छ । समितिका अनुसार कतिपय वः लाई परिकार मानिँदैन ।

लिच्छवि र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिने बताइन्छ । व फेस्टिभलसँगै साँझ सांगीतिक प्रस्तुति समेत गरिएकाे थियाे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.