रमाइलो पर्वमा घमाइलो मौसम

आश्विन २७, २०८१ |प्रकाश बम
रमाइलो पर्वमा घमाइलो मौसम

काठमाडौं । दशैंको लामो विदामा परिवारसँग चाड मनाउनुसँगै मनोरञ्जनका लागि घुमफिर र यात्रामा रमाउने धेरै छन् । हुन त विदाकै समयमा पुस्तक पढ्नेहरु पनि नभएका होइनन्, तर टिका लगाइसकेर फुर्सदको बेला शहरका मनोञ्जन केन्द्रहरुमा भेला हुनेको भिडले पनि दशैंको फरक रंग देखाउँछ । संघीय राजधानी काठमाडौंका सिनेमा हलदेखि फनपार्कसम्मको चहलपहल पनि हेर्न लायककै छ ।

दशैंको विदामा परिवार र साथीभाइसहित चलचित्र हेर्न जाने पुरानै चलन हो । शहर र शहरउन्मुख गाउँका दर्शकलाई लक्षित गर्दै फुलपातीकै दिन एकैपटक तिन चलचित्र प्रदर्शनमा आए । आफ्नो रुचिअनुसार मानिसहरु हलसम्म पुगेर चलचित्र हेरीरहेका छन् । दशैंको टिका सकेर परिवारसहित फिल्म हेर्न पुग्नेको हलहरुमा घुइँचो छ ।

वर्षमा एकपटक हुने लामो छुट्टीको समयमा घुम्न मनपराउनेहरु पनि निकै छन् । सक्नेहरु विदेश नै घुम्न जान थालेका छन् । कोहि हाइकिङ वा ट्रेकिङ् पनि जाने गरेका छन् । शहरमै पनि घुम्ने र रमाइलो गर्ने स्थान योबेला भरिभराउ छन् । जस्तै; काठमाडौंको स्काइ वाक । २ सय ५६ फिट अग्लो टावर चढेर फोटो र भिडियो लिनुका साथै नाचगान गरेर रमाइरहेकाहरु पनि भेटिए ।

सरकारी कार्यालय सबैजसो बन्द छन्, विद्यालय पनि बन्द छन् । बालबालिका र अभिभावक दुवै फुर्सदमा भएका बेला नानीबाबुलाई खेलाउँदै घुमाउन फनपार्क पुगेकाहरु पनि उत्तिकै भेटिए ।

गाउँमा हुँदो हो त मानिसहरु पिङ खेल्दा हुन्, परम्परागत नाचगानमा रमाउँदा हुन् । लंगुरबुर्जामा रमाउनेहरु घट्दै गएका छन्, चंगा भिडाउनेहरु पनि कमै भएका छन् । घरमै बसेर परिवारसँग रमाइलो गर्नु त छँदैछ, यता शहरमा रमाइलो गर्ने अनेक तरिका छन् । जसरी होस्, दशैंलाई सम्झनलायक बनाउन मानिसहरुले गच्छेअनुसारका गतिविधि गरिरहेकै छन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।