२ सय ५६ वर्ष पुरानो खड्ग जाजरकोट दरबारमा भित्र्याइयो

आश्विन २४, २०८१ |सरोज वली
२ सय ५६ वर्ष पुरानो खड्ग जाजरकोट दरबारमा भित्र्याइयो

जाजरकोट । नेपाल एकीकरण अभियानका सिलसिलामा गोरखाका राजा पृथ्वीनारायण शाहले २ सय ५६ वर्षअघि जाजरकोट राज्यलाई उपहार दिएको खड्ग अर्थात् तरबार बडादशैंको फूलपातीमा जाजरकोट दरबार भित्र्याइएको छ ।

तत्कालीन जाजरकोट राज्यको शक्तिको प्रतीकका रूपमा रहेको उक्त खड्ग आज जाजरकोटको पुरानो सदरमुकाम जगतीपुरबाट जाजरकोट दरबारमा भित्र्याइएको हो ।

उक्त खड्गलाई दशैंको फूलपाती अर्थात् सप्तमी, महाअष्टमी, महानवमी र विजयादशमीका दिनसम्म पञ्चेबाजासहित बोका र राँगाको बली दिएर भव्य रूपमा पूजाआजा गरी दशमीकै दिन टीका लगाइसकेपछि जगतीपुरमै फर्काउने परम्परा छ ।

स्थानीय सर्वसाधारणहरू, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूको सहभागितामा शङ्ख ध्वनी र बाजागाजासहित भेरी नगरपालिका-४ गैरीखालीमा पूजाआजा र सलामी दिएर आज बिहान उक्त खड्गलाई जाजरकोट दरबार लगिएको हो । बोकाको बली दिएर प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विधिपूर्वक पूजाआजा गरेर दरबारमा फूलपाती र खड्ग भित्र्याउनु भयो । 

जाजरकोटमा गत वर्ष गएको भूकम्पले दरबारमा क्षति पुर्‍याएपछि दरबारलाई त्रिपालले ढाकेर राखिएको छ । त्यही क्षतिग्रस्त दरबारमा नै आज खड्ग भित्र्याइएको हो ।

विक्रम सम्वत् १८२५ माघ ५ गते काँसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालीन जाजरकोटी राजा हरि शाहसँग नेपाल एकीकरण अभियान सफल पार्ने उद्देश्यले धर्मसन्धि गर्दै उक्त खड्ग जाजरकोट राज्यलाई उपहार स्वरूप दिएका थिए । दुई राज्यका बीचमा एकअर्कालाई सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजालाई दिइएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताउनु भयो ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।