अमेरिकाको मेरिल्याण्ड राज्यमा मनाइयो ‘दशैँ डे’

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको मेरिल्याण्ड राज्यमा मनाइयो ‘दशैँ डे’

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा गत वर्ष देखि आधिकारिक रुपमा मनाउन थालिएको ‘दशैं डे’ कार्यक्रम शानिबार भव्य रुपमा सम्पन्न भएको छ ।

विविधता र दशैं भन्ने मुख्य नाराका साथ मनाइएको उक्त कार्यक्रममा अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन, मेरिल्याण्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलर, वाल्टिमोर काउन्टीका काउन्टी एक्जुकेटिभ एवं कंग्रेसनल उमेदवार जोनी ओ ओल्जेस्की, वाल्टिमोर काउन्टी काउन्सिलका अध्यक्ष जुलियन जोन्स, सिनेटर क्याथी क्लाजमार, डेलिगेटहरु स्कट फिलिप, निक एलन लगायतका निर्वाचित प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले अमेरिका विविधता मार्फत प्रजातान्त्रिक अभ्यास अपनाउँदै आएको देश भएको बताउँदै अमेरिकामा हरेक भाषा र संस्कृतिको उत्तिकै सम्मान र समावेशीतालाई उच्च प्राथमिकतामा राखिदै आएको बताउनु भयो ।

कार्यक्रममा मेरील्यान्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलरले मेरील्यान्ड राज्यले दशैं सम्बन्धी बिल पारित गरेर अमेरिकाभरि नै अग्रणी राज्यको रुपमा रहेको उल्लेख गर्नुभयो।

नेपाली मूलका पहिलो डेलिगेट डाक्टर ह्यारी भण्डारीले दशैं शान्ति र एकताको प्रतीक भएकाले यसले बसुधैव कुटुम्बकम भन्ने मान्यताका साथ विश्वव्यापी रूपमा सद्भाव र ममताको सन्देश सम्प्रेषण गर्न सफल भएको बताउनुभयो ।

मेरिल्याण्ड राज्यको डिष्टिक ८ मा भएको उक्त कार्यक्रममा दशैं सम्बन्धी विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा स्वस्ती वाचन ,नेपाली पन्चेबाजा ,तान्त्रिक नृत्य,नेपाली नृत्य ,नेपाली संस्कृति झल्कने पोशाक, चिनियाँ क्वांग नृत्य,राजस्थानी नृत्य, मैथली नृत्य लगायतका विभिन्न व्यक्ति तथा समूहहरुले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा मेरील्यान्ड,भर्जिनिया,पेन्सिलभेनिया,न्युजर्सी,न्युयोर्क लगाएतका ठाउँबाट नेपाली मूलका व्यक्तित्वहरुको सहभागिता रहेको थियो। अमेरिकाको मेरील्यान्ड राज्यले दशैं डे सम्बन्धी विधेयक सन् २०२२ मा पारित गरेर अक्टोबर ५ लाई दशैँ डेको रूपमा मान्यता दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement