[अपडेट] बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २३२ पुग्यो, ३१ राजमार्ग अवरुद्ध

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
[अपडेट] बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २३२ पुग्यो, ३१ राजमार्ग अवरुद्ध

काठमाडौं । बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ पुगेको छ । बेपत्ता २३ जनाको अवस्था अझै यकिन हुन सकेको छैन । बाढी-पहिरोमा परी १ सय ६५ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाको छ । बाढीपहिरोका कारण देशभरका ३१ राजमार्ग अवरुद्ध भएका छन् । 

सडक विभागका अनुसार ४ सय १५ राजमार्गमा एकतर्फी यातायात सञ्चालनमा छन् । अवरुद्ध भएका स्थानमा राजमार्ग खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ । हेटौंडा-काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग भीमफेदी-कुलेखानी-फाखेल सडक दुई दिनभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

गत असोज ११ र १२ गते गएको बाढी पहिरोले भीमफेदी-कुलेखानी-फाखेल र भीमफेदी-कुलेखानी-सिस्नेरी सडक अवरुद्ध छ । पहुँच मार्गलाई मर्मत गरी सञ्चालनमा ल्याउन बुधबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति समेत परिचालन गरिएको छ । बिहीबार बेलुकासम्ममा भीमफेदी-कुलेखानी-फाखेल-हुमानेसम्मको सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्केले बताउनुभयो । 

यसैगरी, हेटौंडा-काठमाडौं जोड्ने कान्तिराजपथ पनि अवरुद्ध नै छ । यस सडकको दर्जन स्थानमा पहिरो खसेको छ । मकवानपुर र ललितपुर जोड्ने बगुवा खोला पुल क्षतिग्रस्त भएका कारण तत्काल यो मार्ग सञ्चालनमा ढिलाइ हुने भएको हो । यसैगरी, नागढुंगा-नौविसे सडक खण्डमा निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर पन्छाएपछि झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक सञ्चालनमा आएको छ भने धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएर एकतर्फी भएको छ । सडक ३० मिटर भासिएको हो । उता बिपी राजमार्गको नेपालथोक सडक खण्ड पनि खुल्न सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.