काठमाडौंका बजारमा दशैंको चहलपहल बढ्यो

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंका बजारमा दशैंको चहलपहल बढ्यो

काठमाडौं । दशैंका लागि किनमेल गर्न बजारमा चहलपहल बढेको छ । काठमाडौंका मुख्य बजारहरुमा उपभोक्ता किनमेलका लागि पुग्ने क्रम बढेको हो । तर व्यापारीहरुले विगतको तुलनामा यस वर्ष व्यापार कम भएको बताएका छन् ।

काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटीलगायतका क्षेत्रमा सामान किनमेल गर्नेहरुको चहलपहल बढेको हो । उपभोक्ताले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । 

विशेष गरी जुत्ता-चप्पल, कपडालगायतका सामानमा मूल्य बढेको उपभोक्ताको भनाइ छ । पसलहरुमा मूल्यसूचीसमेत नराखिएको गुनासो उनीहरुको छ ।

अघिल्लो साता बाढी, पहिरो र डुबानका कारण उपभोक्ता बजारसम्म पुग्न सकेका थिएनन् । अहिले मौसम सफा भएकाले पनि बजारमा चहलपहल बढेको हो । तर उपभोक्ताले सामान भाउ बढेको गुनासो गरिरहँदा पनि सरकारले अनुगमन प्रभावकारी बनाउन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.