जनकपुरको अग्निकुण्ड झुलन कुञ्ज मन्दिरको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिले गरे कब्जा

आश्विन ९, २०८१ |अनिल मिश्र
जनकपुरको अग्निकुण्ड झुलन कुञ्ज मन्दिरको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिले गरे कब्जा

जनकपुर । मठमन्दिर र पोखरी सरोवरहरुको शहरको रुपमा प्रख्यात जनकपुरधाममा अतिक्रमण गरि बसेका र बेचिएका गुठीका जग्गा फिर्ता ल्याउन पटक पटक चर्चा हुने गरेका छन् । यसका लागि सरकारले आयोग पनि गठन गर्दै आएको छ । तर, प्रभावकारी हुनसकेको छैन् । केही महिनाअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुनः आयोग गठन गरेको चर्चा सेलाउन नपाउँदै जनकपुरमा धार्मिक र सांस्कृतिक महत्वको एक मन्दिरको करोडौं मूल्य बराबरको जग्गा व्यक्तीले कब्जा गरेको खुलेको छ । चार महिना अघि लिखित उजुरी परे पनि आवश्यक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुको साटो प्रहरी दबाब र प्रभावमा परेको आरोप छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा घेराबेरा लागेको आँपको बगैचा भएको यो जग्गा अग्निकुण्ड झुलन कुञ्ज मन्दिरको नाममा रहेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ सिट नम्बर १३१३-२५ किता नम्बर २५ को ५ कठ्ठा २ धुर २ कन्मा जग्गा स्थानीय बिशेश्वर साहले कब्जा गर्नुभएको हो ।

यस जग्गाको चलन चल्तीको भाउ ५ करोड १० लाख रुपैयाँ भन्दा बढि रहेको अनुमान छ । अग्निकुण्ड झुलन कुञ्ज मन्दिरको नियमित पूजापाठ र महन्थ पूजारीको भोजन तथा अतिथिको स्वागत सत्कारका लागि धान गाहु उब्जाउन यो जग्गा बटैया दिइएको हो । यो जग्गा संगै वडा नम्बर १३ कै सिट नम्बर १३१३-२१ कित्ता नम्बर १२ को ५ कठ्ठा ३ धुर १ कन्मा, सिट नम्बर १३१३-२२ कित्ता नम्बर ७१ को १० धुर ३ कन्मा र सिट नम्बर १३१४-२३ किता नम्बर १८ को ४ कठ्ठा १६ धुर २ कन्मा खेती योग्य जग्गा बिशेश्वर साहले हातहतियार र शक्तिको बलमा जवर्जस्ती कागज बनाई कव्जा गरेको आरोप छ ।

नीजि गुठी अन्तर्गत रहेका यस मन्दिरका महन्त रामपृया शरणले बिशेश्वर साह लगायत ३ जना बिरुद्ध सम्पतीको अपधारिक उपयोग ठगी सम्बन्धी २०८१ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराउनु भयो । जाहेरी परेको ३ महिना पछि बल्ल आरोपी मध्येका एक बेचन साह पक्राउ परे । तर उनी पनि हजिरी जमानीमा रिहा भएका छन् । 

कति सम्म भने सरकारी वकिल कार्यालयले मुख्य आरोपी बिशेश्वर साहलाई नियन्त्रणमा लिई ठोस अनुसंधान गर्न गएको भदौ १४ गते दिएको निर्देशन अझै पालना भएको छैन । अन्य फरार प्रतिवादीहरुलाई अबिलम्ब पक्राउ गरि जाहेरी अनुसारको आबश्यक प्रमाण, घटना स्थलको सिसिटीभि फुटेज, प्रतिबादीको लिखत अनुसारको जग्गा खरिदको कागजात लगायतका सबुत प्रमाण जुटाई अनुुसन्धान प्रकृया अगाडि बढाउन भनिएपनि प्रहरीले यसलाई गम्भीरतापूर्वक लिएको देखिदैन ।

आरोपित बिशेश्वर साहका परिबारले महन्त रामपृया शरण सँग जग्गा खरिद गरेको बताएपनि मठमन्दिर नीजि गुठीका जग्गा किनबेच गर्न नपाउने कानुनी प्राबधान छ ।

मठ-मन्दिरका संरक्षक महन्थ र सरकारी कर्मचारीकै मिलोमतोमा ४४ वटा भन्दा बढी मन्दिरको नामो निसाना नै गायव भइसकेको जनकपुरधाममा फेरि एक मन्दिरको अस्तित्व संकटमा परेको छ । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


Enter Kantipur TV HD
Advertisement