दशैँ नजिकिए पनि सुनसान छ बर्दियाको गुलरिया बजार

आश्विन १८, २०८१ |कमल पन्थी
दशैँ नजिकिए पनि सुनसान छ बर्दियाको गुलरिया बजार

बर्दिया । विगतका वर्षमा दशैँअघि नै बर्दियाका बजारमा कपडादेखि दैनिक उपभोग्यका सामान खरिद गर्नेको भिडले व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । बजारमा मानिसको चहलपहलले दशैँको व्यापारले राम्रो मुनाफा पाइने आशामा व्यवसायी खुशी हुन्थे । यसपालि भने दशैँ बजार सुनसान छ, त्यसैले व्यवसायीमा कुनै उत्साह छैन । उता सीमामा भारतीय बजारमा भने यतिबेला नेपाली उपभोक्ताको भिडभाड छ ।

विगतमा दशैँको समय राम्रो आम्दानी हुने गरेको गुलरियाका फेन्सी कपडा व्यापारीहरु बताउँछन् । तर यो वर्ष त दशैँमै पनि मुस्किलले दिनमा ५/६ जना ग्राहक मात्रै आउने गरेको उनीहरुको गुनासो छ । भारतीय सीमावर्ती क्षेत्रमा हालै सञ्चालनमा आएको लौकाही बजार र बलैगाउँमा सयौँ नेपालीहरु हुल बाँधेर किनमेल गर्न जान्छन् । त्यसको प्रभाव गुलरियाको व्यापारमा परेको हो ।

यता सर्वसाधारण भने गुलरियामा भन्दा आधा मूल्यमा भारतीय बजारमा सामान पाइने हुनाले त्यहाँ जानुपर्ने बाध्यता रहेको सुनाउँछन् । बर्दियासँग भारतेको ८३ किलोमिटर खुला सीमाना छ । भारतको सीमावर्ती क्षेत्रका विभिन्न बजारमा नेपालीहरु ठूलो संख्यामा किनमेल गर्न जान्छन् । सीमामा छोटी भन्सार नहुँदा राजश्व तिर्नुपर्ने बाध्यता छैन ।

द्वन्द्वकालमा बन्द भएको सीमावर्ती लौकाही बजार र बलैगाउसँग जोडिएको बर्दियाको गणेशपुर र फुटाहामा छोटी भन्सार सञ्चालनमा आएका छैन । सरकारले छोटी भन्सार फेरि सञ्चालनमा ल्याए यहाँको व्यापार फस्टाउने व्यवसायीको विश्वास छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।