उद्धार कोषमा एकै दिन साढे तीन करोड हस्तान्तरण

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
उद्धार कोषमा एकै दिन साढे तीन करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकै दिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

कोषमा कृषि विकास बैंकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबीआई बैंकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बीवाईडी) कम्पनीबाट ५१ लाख रुपैयाँ हस्तान्तरण भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढीपहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने बताउनुभयो । उहाँले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.