राउटे युवा बिर्खबहादुर शाहीको मृत्यु

आश्विन ३, २०८१ |चक्र भण्डारी
राउटे युवा बिर्खबहादुर शाहीको मृत्यु

दैलेख । एक जना राउटे युवाको गए राति मृत्यु भएको छ । ६ महिनादेखि फोक्सो र कलेजो रोगका कारण बिरामीले थलिएका २२ वर्षका बिर्खबहादुर शाहीको गए राति निधन भएको हो ।

बिर्खबहादुर दैलेखको गुराँस गाउँपालिका-१ सिमेसालमाको जंगलमा बस्दै आएको राउटे बस्तीका युवा हुन् । उपचारमा जानै नमान्ने राउटे समुदायका ती युवालाई प्रदेश अस्पताल सुर्खेतमा भदौ ३१ गते मात्र लगिएको थियो । शाहीको खकार परिक्षण गर्दा क्षयरोग देखिएको अस्पतालले जनाएको छ । 

शाहीलाई क्यान्सरको थप परीक्षणका लागि मासु लिएर चेक गर्न राउटेहरु मन्जुर नभएपछि अस्पतालले हिजो साँझ डिस्चार्ज गरेको थियो । अस्पतालबाट डिस्चार्ज गरेर साँझ बस्तीमा पुग्दै गर्दा शाहीको मृत्यु भएको थियो । बिर्खको मृत्युपछि राउटेको परम्परा अनुसार राति नै दाहसंस्कार भएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिनु भयो ।

४२ घर रहेको यो राउटे बस्तीमा अहिले १ सय ३४ जना मात्र सदस्य छन् । २०७५ सालयता ४३ जना राउटेको मृत्यु भएको छ । हरेक वर्ष राउटेको जनसंख्या घट्दै गएको छ । एसियाको एक मात्र जंगलमा फिरन्ते जीवन बिताउने राउटे जातीका धेरैजसो सदस्यले अधिक मदिरा सेवनका कारण अकालमा ज्यान गुमाउँदै गएका छन् । सरकारी पक्षबाट मासिक भत्ता वितरण बाहेक यो जातीको संरक्षणमा कुनै चासो देखिएको छैन ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement