इजरायलद्वारा ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीको रिहाइ अनिश्चितकालसम्म स्थगन, बन्धक हस्तान्तरण सम्मानजनक नभएको जिकिर

इजरायलले युद्धविराम उल्लंघन गरेको हमासको आरोप
फाल्गुन ११, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलद्वारा ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीको रिहाइ अनिश्चितकालसम्म स्थगन, बन्धक हस्तान्तरण सम्मानजनक नभएको जिकिर

काठमाडौं । इजरायलले ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीको रिहाइ अनिश्चितकालका लागि ढिला गरिएको जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमासले थप बन्धक रिहा गर्ने र रिहा गर्दा अपमानजनक समारोह आयोजना नगरिने यी दुई कुरा सुनिश्चित नगरिँदासम्म प्यालेस्टिनी कैदी रिहा नगरिने जनाएको हो ।

हमासले हालैका दिनमा गरेको बन्धक हस्तान्तरणको कार्य सम्मानजनक नभएको र त्यो अन्तर्राष्ट्रिय कानुनविपरीत भएको राष्ट्रसंघीय अधिकारीले बताएका थिए । सोही विषयलाई लिएर इजरायलले आपत्ति जनाएको हो ।

रिहाइ गर्दा हमासले बन्धकलाई मानिसहरूको भिड अगाडि स्टेजमा प्रदर्शन गर्ने र कहिलेकाहीं हस्तान्तरण गरिनुअघि बोल्न समेत लगाउने गरेको थियो । यसैगरी बन्धकका शव राखिएका बाकस पनि भिडको बीचबाटै लगिएको थियो । इजरायल र हमास दुवैले एक अर्कामाथि एक महिना लामो युद्धविराम सम्झौता पूर्ण रूपमा पालना नगरेको आरोप लगाउँदै आएका छन् । हमासले शनिबार मात्रै थप ६ इजरायली बन्धक रिहा गरेको थियो भने प्रत्युत्तरमा इजरायलले सोही दिन नै आफनो जेलमा रहेका ६२० प्यालेस्टिनी कैदी रिहा गर्नुपर्ने थियो ।

पूर्वयोजना अनुरूप शनिबार कुनै प्यालेस्टिनी कैदी रिहा नगरिएपछि हमासका प्रवक्ता अब्दुल लतिफले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउनु भएको थियो । शनिबार रिहा गरिएका बन्धकहरू युद्धविराम सम्झौताको पहिलो चरणमा हमासले रिहा गर्ने भनिएका अन्तिम जीवित इजरायली बन्धक हुन् । गत जनवरी १९ देखि सुरू भएको गाजा युद्धविराम अन्तर्गत हमासले आठ पटक गरी २५ इजरायली र पाँच थाई बन्धक तथा ४ बन्धकको शव इजरायललाई हस्तान्तरण गरिसकेको छ । थप चार मृत इजरायली बन्धकको शव भने हमासले आगामी साता हस्तान्तरण गर्ने योजना रहेको छ ।

अझै पनि हमासको कब्जामा ६३ बन्धक रहेको र तीमध्ये आधाभन्दा कम मात्रै जीवित रहेको विश्वास गरिएको रोयटर्सले उल्लेख गरेको छ ।



Enter Kantipur TV HD
Advertisement