काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो केन्द्रीय समिति बैठक बुधबार बस्दै छ । तर, यो बैठक पूर्ण सदस्य संख्यामा सञ्चालन नहुने निश्चितजस्तै छ । किनकि, पहिलो महाधिवेशन सकिएको एक महिना हुँदा पनि पार्टीका मनोनीत पदहरू अझै खाली छन् ।
आखिर यति ढिलो किन ? अनि कहिलेसम्म मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टीमा जोडिएलान् त ?
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सकिएको एक महिना भयो । तर, पार्टी अझै अधुरै छ । रास्वपाको विधानमा १२ पदाधिकारीसहित ५१ जना केन्द्रीय सदस्य मनोनीत हुने व्यवस्था छ । जसमा एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता, तीन सहप्रवक्ता र ५१ केन्द्रीय सदस्यलाई पार्टी सभापतिले मनोनीत गर्नुपर्ने हुन्छ । तर, यी पद अहिलेसम्म खाली छ ।
यति ढिलो किन त ?
रास्वपा महामन्त्री विपिन आचार्य पनि पदाधिकारी तथा केन्द्रीय सदस्य छनोटका लागि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बेला बेला छलफल चलिरहेको बताउनुहुन्छ । तर, विभिन्न समूहबाट रास्वपामा आएकाहरूलाई समेत स्थान दिनुपर्ने भएकाले समायोजनको स्पिरिटअनुसार मनोनीत गर्न लाग्दा ढिलो भएको उहाँको भनाइ छ ।
”केही नाममा छलफल भएको छ र केही नाम आउनै बाँकी छ,” आचार्य भन्नुहुन्छ । तर, तत्कालै नाम टुंगिइहाल्ने छाँटकाँट छैन । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली सबै केन्द्रीय सदस्यहरूकै नाम टुंगिन पनि अझै एक महिना लाग्नसक्ने बताउनुहुन्छ ।
त्यसो त रास्वपा वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह औपचारिक रूपमा मनोनीत हुन बाँकी भए पनि निर्विरोधजस्तै हुनुहुन्छ । तर, बुधबार बस्ने केन्द्रीय समिति बैठकमा शाहको मनोनित हुन्छ कि हुँदैन भन्ने एकिन छैन । पदाधिकारी तहका एक नेताका अनुसार वालेन्द्र शाह समूहबाट पार्टीमा समायोजन भएका पदाधिकारीका आकांक्षीहरूको अन्तिम नामावली सभापति लामिछानेकहाँ पुगिसकेको छैन ।
शाहले महामन्त्री र उपसभापतिको नाम पनि नदिइसकेको बताइएको छ । वालेन्द्र शाह समूहबाट महामन्त्रीमा भूपदेव शाह र सुदीप ढकालको दाबी रहेको पनि एक पदाधिकारीले बताएका छन् । त्यस्तै उपभासभापतिमा सुनिल लाम्सलको दाबी रहेको र पछिल्लो समय गृहमन्त्री समेत रहनुभएका सुदन गुरुङले समेत पदाधिकारीमा चाहाना राखेर लबिङ गरिरेहेको पनि उनै पदाधिकारीले बताए ।
उनैका अनुसार केन्द्रीय सदस्यका हकमा पनि शाहको समूहका केहीको नाम आएको भए पनि त्यो छलफलमै छ । यता पार्टीमा स्थापनाकालदेखिका नेताहरू पनि महामन्त्री र उपसभापतिबाहेका पदमा आकांक्षी देखिएका छन् । रिक्त पदभन्दा आकांक्षी बढी हुँदा उनीहरूको नाम टुंग्याउन पनि सभापति लामिछानेलाई सकस परिरहेको छ ।
रास्वपाले साउन १३ गते केन्द्रीय समिति बैठक बोलाएको छ । महाधिवेशनपछि बस्न लागेको यो दोस्रो केन्द्रीय समिति बैठमा समग्र महाधिवेशनको समिक्षा, आवश्यक कार्यविधि तर्जुमा र परिमार्जनका साथै मनोयन पनि बैठकको एजेन्डाको रुपमा तय गरिएको छ ।
एक पदाधिकारीका अनुसार सभापतिले केही केन्द्रीय सदस्य र केही पदाधिकारी मनोनयन गर्न सक्न सम्भावना रहेको बताएका छन् ।