काठमाडौं । सत्ताको स्थायी चरित्र नै हो- यो सधैँ संकटमा हुन्छ । अहिले यो संकट प्रदेश सरकारहरूमा मडारिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्ला घटनाक्रमसँगै नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य टुट्ने संघारमा छ । त्यो लहरो तानियो भने सातै प्रदेशमा सत्ता समीकरणको पहरो खस्ने संकेत देखिएको छ । नेकपा आफ्नो पक्षमा आए दुवै दल टेको पाइन्छ कि भनेर बसेका छन् । यो संकटको जड के हो अनि नेकपाको साथ कसलाई ?
प्रदेश सरकारहरूमा अहिले नयाँ सत्ता समीकरणको खिचडी पाकिरहेको छ । तर कुन प्रदेशमा कुन दलले कसलाई समर्थन गर्छ र कस्तो समीकरण बन्छ भन्ने चाहिँ पूरै अस्पष्ट छ ।
बिहीबार कर्णाली प्रदेशमा नेकपाका ५ र नेपाली कांग्रेसका ११ गरी १६ सांसदले एमालेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अर्थात् कांग्रेस र नेकपा कर्णालीमा मिलेका छन् ।तर सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपाले मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।यो सम्भावित उलटफेरको सुरुआती बिन्दु भने प्रदेशहरूको बजेट विवाद हो । कांग्रेस नेताहरूका अनुसार एमालेले कांग्रेस नेतृत्वका प्रदेश सरकारहरूमा बजेट पारित गर्न असहयोग गरेकाले सम्बन्धमा दरार आएको हो ।घाउमा नुन तब लाग्यो जब एमालेले सुदूरपश्चिम सरकारको नेतृत्व नेकपालाई दिने र कांग्रेससहित तीनदलीय गठबन्धन बनाउने प्रस्ताव गर्यो ।
घटनाक्रमहरू यसरी विकसित भए कि कर्णालीमा एमाले नेतृत्वको सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिए । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरे ।
कांग्रेस भने प्रदेशमा ३ ठूला दलको संयुक्त सरकार बने प्रतिपक्ष कमजोर हुने भन्दै एक दलसँग मात्र सहकार्य गर्ने बताइरहेको छ ।
सम्बन्ध चिसिएपछि एकअर्कालाई दोष थोपर्ने मानवीय अवगुण नै हो । कांग्रेसले एमालेलाई औँला तेर्स्याइरहँदा एमालेले पनि तीन दलबीचको सहकार्यमा कांग्रेसले चासो नदेखाउँदा समस्या भएको दाबी गरेको छ । एमालेले तीनदलीय गठबन्धन खोजेको नेकपासँगको सम्भावित वाम एकताका लागि पनि हो । पार्टीभित्रै प्रदेश सरकारबाट सहकार्यको सुरुआत गर्नुपर्ने आवाज उठेकाले उसको तयारी त्यसैअनुरूप छ । एमालेलाई पर्खाइ छ- नेकपाका संयोजक पुष्पकमल दाहालको निर्णयको ।
आकार जत्रोसुकै होस्, पुष्पकमल दाहाल सत्ता समीकरणमा सधैँ केन्द्रमा हुन्छन् । अहिले पनि नेकपालाई आफ्नो पक्षमा पार्न कांग्रेस-एमाले दुवैले कसरत गरिरहेका छन् । नेकपाका नेताहरू नीतिगत र चुनावी सहकार्य तथा वाम एकताका लागि एमालेसँगको सहकार्य सहज हुने भए पनि हतार भने गर्न नहुने पक्षमा छन् । नेकपा ‘ओपन टु निगोसिएसन’को स्थितिमा छ ।
हाल कांग्रेसको नेतृत्वमा सुदूरपश्चिम, गण्डकी, मधेश र बागमती प्रदेश सरकार छन् । एमालेको नेतृत्वमा कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकार सञ्चालनमा छन् । तर खिचडी पाकिसक्दा डाडु चलाउने जिम्मा कसले पाउँछ भन्ने चाहिँ अन्योलै छ । जे होस् यत्ति हो, तीनै दल अहिले चुलो वरिपरि छन् ।