काठमाडौं । सिरहाको गोलबजारमा गोली चल्यो ।
१५ वर्षीय गणेश यादव ढले। तर, त्यो गोली कसले चलायो भन्ने प्रश्नको जवाफ आजसम्म कसैसँग छैन। प्रहरी भन्छ-हामीले ब्ल्यांक फायर र रबर बुलेट मात्र चलायौं। सशस्त्र प्रहरी भन्छ-हामीले गोली चलाएकै छैनौं। नेपाली सेनाले पनि इन्कार गर्छ। तर, गणेशको मृत्यु भएको छ।
एउटा परिवार न्यायको पर्खाइमा छ, र राज्य अझै हत्यारा खोजिरहेको छ। आखिर गोलबजारमा त्यो घातक गोली कसको बन्दुकबाट निस्कियो ?
साउन १० गते सुनसरीको देवानगञ्जमा भएको झडपको तरंग अन्य जिल्लामा फैलिँदा चार दिनपछि सिरहामा पनि एक जना युवकले ज्यान गुमाए । औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेश यादव गोली लागेर मारिएपछि झन्डै ३ घण्टा गोलबजार चोकमा शव अलपत्र रह्यो ।
भावविह्वल अवस्थामा उनका दाइ १८ वर्षीय कमलेश यादवले कसैलाई घटनाबारे खबर गरेको भिडियो क्षणभरमै भाइरल भयो । यो घटना सार्वजनिक भएपछि परिस्थिति थप बिग्रिन थाल्यो । गृहमन्त्री सुधन गुरुङ गणेशको ज्यान गएलगत्तै मधेश झर्नुभयो । सिरहा पुगेर गणेशका बुवा रामवृक्ष यादवसँग ७ बुँदे सहमति गर्नुभयो र परिवारले शव उठायो ।
तर, यादव कसले चलाएको गोली लागेर मारिए ? यो प्रश्न अझै अनुत्तरित छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार प्रहरीबाट त्यस दिन ब्ल्यांक फायर र रबर बुलेट मात्र प्रहार भएको ब्रिफिङ आएको छ। ‘सशस्त्र प्रहरीले गोली नै चलाएको छैन भनिएको छ,’ उहाँले भन्नुभएको छ।
नेपाल प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले पनि कसले गोली चलाएको थियो भन्ने छानबिन गर्न सोही दिन प्रदेश प्रहरी कार्यालय, मधेशबाट प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा समिति बनाइएको बताउनुभएको छ। उहाँका अनुसार गृह मन्त्रालयले पनि समग्र घटनाको छानबिन गर्न छुट्टै समिति बनाएको छ, जसमा प्रहरीका प्रतिनिधिहरू पनि छन्।
प्रशासनले परिस्थिति नियन्त्रणमा लिन भन्दै त्यस दिन कर्फ्यु लगाएकाले नेपाली सेनाको टोलीसमेत परिचालन भएको थियो । सेनाले समेत त्यो दिन गोली चलाएको स्विकारेको छैन ।सैनिक प्रवक्ता राजाराम बस्नेत भन्नुहुन्छ, ‘छानबिन भइरहेको विषय भएकाले त्यसमा मलाई कुनै जानकारी प्राप्त भएको छैन ।’
अरू त अरू घटनाको छानबिनका लागि बनाइएको गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको टोलीले समेत त्यो दिन कसले गोली चलाएको थियो भन्ने पत्ता लगाउन सकेको छैन । समितिका एक सदस्यका अनुसार ‘कसले गोली चलाएको थियो भन्ने विषय नै अनुसन्धानको केन्द्रमा छ ।’
यही अन्योलका कारण ब्यालेस्टिक र फरेन्सिक जाँच गर्ने गरी समितिमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा कार्यरत प्रहरी निरीक्षक दीपेश अवस्थी र प्रहरी उपरीक्षक (एसपी) मनोहरसिंह धामीलाई पनि थपिएको छ । समितिमा त्यसअघि नेपाल प्रहरीका एसपी मोहनकुमार थापा, सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी, प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका डीएसपी पवनकुमार ढुंगाना र गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याल सदस्य थिए ।
मन्त्रालयका एक अधिकारीका अनुसार गोली हानिएको दूरी पनि थाहा हुने भएकाले समितिलाई अन्य विषयमा अध्ययन गर्नसमेत सहयोगी हुने भनेर उनीहरूलाई सदस्यमा थपिएको हो । राष्ट्रिय मानवअधिकार आयोग मधेशका प्रमुख बुद्धनारायण सहनी पनि हालसम्म सिरहामा कसले गोली चलाएको थियो भन्ने खुल्न नसकेको बताउनुहुन्छ ।
‘धेरै किसिमका चर्चा छन्, तर यकिन भएको छैन,’ उहाँले भन्नुभएको छ । प्रहरी अधिकारी भने यस किसिमका घटनामा विगतमा पनि कसले गोली चलाएको थियो भन्ने विषयमा अलमल हुने परिस्थिति बनेका छन् । ‘सुरक्षा निकायले एउटै हतियार बोकेका हुन्छन्, त्यसपछि कहिलेकाहीं त्यो कारबाहीसँग पनि जोडिने विषय भएकाले मैले गरेको होइन भन्ने हुन्छ,’ नेपाल प्रहरीका पूर्वएआईजी उत्तमराज सुवेदीको भनाइ छ ।
तर, कुन बन्दुकबाट फायर भएको गोलीले ज्यान गएको हो भन्ने पत्ता लागिहाल्ने उहाँ बताउनुहुन्छ । अर्को पक्षबाट गोली चलेको रहेछ भने पनि ब्यालेस्टिक जाँच गरेपछि थाहा हुने उहाँ बताउनुहुन्छ । मृतक गणेशका बुबा रामवृक्षले भने सरकारले आफ्नो सन्तानको हत्या गरेको दाबी गर्दै छानबिन र दोषीलाई कारबाही हुनुपर्ने माग राखिरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘सरकारले मेरो बच्चाको हत्या गरेको छ, गोली हान्नेलाई कारबाही हुनुपर्यो, मलाई न्याय चाहियो ।’ १५ साउनमा गृहमन्त्री सुधन गुरुङले रामवृक्षको घरमै पुगेर हस्ताक्षर गरेको सहमतिको दोस्रो बुँदामा ‘गोलबजारमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया तत्काल अघि बढाउने’ उल्लेख छ ।
त्यसैअनुसार शाही नेतृत्वको टोलीले थालेको छानबिनका क्रममा पहिलो चरणमा गोलबजारमा घटनास्थलको अवलोकन गर्ने, गोलबजार नगरपालिकामा सर्वदलीय बैठक बसेर सबै पक्षको भनाइ सुन्ने काम सम्पन्न भइसकेको छ । दोस्रो चरणमा स्थानीय व्यवसायीसँग संवाद गरेर आन्दोलनका क्रममा भएका क्षति तथा व्यवसायीका गुनासो सुनेको समितिले तेस्रो चरणमा मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटनाको कारण, प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल गरेको संयोजक शाहीको भनाइ छ ।
गोलबजारमा भएको घटनाको पृष्ठभूमि, आन्दोलनका क्रममा सुरक्षाकर्मीले गोली चलाउनुको कारण खोतल्ने र आगामी दिनमा सामाजिक सद्भाव कायम राख्न हुनसक्ने उपायहरू सुझाउने आफूहरूको मूल काम रहेको शाहीको भनाइ छ।
गाैरव पाेखरेल र विनय आजादकाे रिपाेर्ट